मोरङमा अनुमति बिना चलाइएका स्कुलहरुको बिगबिगी, त्यस्ता स्कुलहरुमा नपढाउन आग्रह

  • ७ बैशाख २०७६, शनिबार

भविष्यका कर्णधार वालवालिकालाई शिक्षाको उज्यालो देखाउन र शिक्षित समाज बनाउन खोलिएका मोरङका सैयौं बोर्डिङ स्कुलहरुले बिना अनुमति कक्षा संचालन गर्दै आएको पाइएको छ ।

मोरङका धेरै  विद्यालय अनुमति बिना संचालन भएका छन् । कतिपय  स्कुलहरुले तल्ला कक्षाहरु संचालनको अनुमति लिएर माथिल्ला कक्षाहरु संचालन गरेर कानुनी राज्यको खिल्ली उडाउँदै एबम् विद्यार्थी र अभिभावकलाई  ठग्दै आएका छन् । निजी  अनुमति भन्दा माथिल्ला कक्षा संचालन गर्दा समेत नियमक निकायको रूपमा रहेका स्थानीय तहहरु मुकदर्शक बनेका छन् ।

बेलबारी नगरपालिकाले एक सार्वजनिक सूचना नै निकालेर अनुमति नलिएका स्कुलमा आफ्ना छोराछोरीलाई नपढाउन अभिभावकहरुलाइ आब्हान गरेको छ ।

नगरपालिकाले नगर क्षेत्रमा रहेका ३२ सामुदायिक र ३६ वटा संस्थागत विद्यालय गरी ६८ वटा स्कुलहरुको नामावली प्रकाशित गर्दै ती बाहेक कुनै स्कुल भएमा आफ्ना छोराछोरीलाई नपढाउन अभिभावकहरुलाइ आब्हान गरेको हो । ६८ मध्ये  बेलबारी ९ का ज्ञानज्योति इङलिस स्कुल र ग्यालेक्सी इङलिस स्कुलले अनुमति नलिएको सूचनामा उल्लेख छ । त्यस बाहेक खासगरी धेरै बोर्डिङ स्कुलहरुले तल्लो कक्षाको अनुमति लिएर माथिल्ला कक्षाहरु संचालन गरेको पाइएको छ । अनुगमन गर्दा त्यस्तो पाइएपछि गत बर्षदेखि नै नगरपालिकाले चेतावनी दिएपनि त्यस्ता स्कुलहरुले अटेर गर्दै आएका छन् । त्यस्ता स्कुलहरुको नाम पनि चांँडै सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।

त्यसैगरी सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा पनि केही स्कुलहरु अनुमति नलिइ चलाइएको पाइएको छ । जनशक्ति अभावको कारण कडा अनुगमन गर्न नसकिएको नगरपालिका अन्तरगतको शिक्षा शाखाका सेक्सन अफिसर सन्तोष बरालले बताए । उनका अनुसार नगरपालिकामा एक उपसचिव सहित ४ जनाको दरबन्दी छ । तर उपसचिव गणेश प्रसाद अधिकारी सरुवा भएर गएको र हरिहर घिमिरे आइ नसकेकोले शिक्षा शाखामा हाल एक सहयोगी कर्मचारी सहित ३ जना कर्मचारी मात्र छन् ।

त्यस बाहेक केही बोर्डिङ स्कुलहरुले अनुमति लिएको भन्दा उपल्लो कक्षाका लागि भर्ना लिइरहेको जानकारी आएको र तिनलाई कारबाही गरिनेे बरालले बताए । अनुुुगमनपछि प्रमाण जुटाएर मात्र त्यस्ता बोर्डिङको नाम सार्वजनिक गरिने उनले बताए ।  उनले राजमार्गमै जोडिएका  एक दुई बोर्डिङले खुुुलेेेआम अनुमति नलिएका कक्षामा भर्नाका लागि बिज्ञापन गरिरहेको बताए । उनले त्यस्ता बोर्डिङहरुको पहिचान गरेर मात्रै आफ्ना छोराछोरी पढाउन आग्रह गरे ।

सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा एउटा धार्मिक सहित ४३ वटा सामुदायिक र ३८ वटा सामुदायिक गरी ८१ वटा  विद्यालय छन् ।

त्यसैगरी मोरङकै पथरीशनिश्चरे नगरपालिकाका १० वटा वडामा रहेका ३७ वटा निजी स्कुुल मध्ये ५० प्रतिशत स्कुल  मात्र नियम अनुसार संचालन भएका छन् । अन्य विद्यालयले नगर र अभिभावको आँखामा छारो हालेर संचालन गरेको पाइएको  छ । नगरभित्र अनुमति भन्दा माथिका कक्षा संचालन भएको स्वकार्दै यहि नयाँ शैक्षिक सत्रमा अनुगमन गर्दा  गैर कानूनी काम गरेको पाइएमा अनुमति पाएका कक्षा समेत खारेज गर्ने नगर शिक्षा शाखा प्रमुख दुर्गा सिक्देलले बताए ।

नगरमा प्याब्सन, एन प्याब्सन जस्ता संगठनहरु रहेपनि  लामो समयदेखि रहेको बेथिथि हट्न सकेको छैन । एन प्याब्सनमा आबद्ध ७० प्रतिशत विद्यालयले ४ कक्षाको अनुमती लिएर ६ र ८ कक्षा संचालन गरेको र फाईनल परिक्षामा अन्य संस्थामा लगेर परीक्षा लेखाउने गरेको पाइएको छ ।

पथरीशनिश्चरे वडा नं. ५ मा रहेको ग्लीम एकेडेमी स्कुलले कक्षा ४ सम्मको संचालन गर्ने अनुमति पाए पनि ६ कक्षाको लागि भर्ना खुलाएको छ । त्यस्तै सुनदह बोडिङ स्कुलले पनि  बिना अनुमती ६ कक्षासम्म पठनपाठन गराउँदै आएको छ । यस्ता अरु उदाहरण पनि धेरै छन् ।

नगरभित्र रहेका निजी विद्यालयलाई नियम भन्दा बाहिर रहेर कुनै पनि गतिविधि नगर्न निर्देशन गरेको र यो नयाँ शैक्षिक सत्रमा अनुगमन गर्दा त्यस्तो पाइएमा कानुनी कर्वाही अघि बढाइने नगर प्रमुख दिलिप कुमार राईले बताए ।

प्याब्सनले पटक पटक नगरलाई पत्रचार गरे पनि नगरले चासो नदिएको प्याब्सन नगर अध्यक्ष उपेन्द्र कडेलको दाबी छ । केहि समय अघि नगर र प्याब्सनले गरेको थियो । अनुगमनमा पथरीशनिश्चरेका धेरै विद्यालयले आफ्ना विद्यार्थी अन्यत्रका स्कुलमा लगेर परीक्षा गराएको पाइएको थियो । कारबाहीबारे नगरपालिकालेे कुनै निर्णय नलिएकाले शिक्षामा बिक्रिति बढेेको  र गुुुणस्तर  पनि नसुध्रिएको नगर प्याब्सनको ठहर छ । यस्ता स्कुुुलहरुले आफ्ना स्कुलमा परिक्षा लेख्न नपाउने र सर्टिफिकेट पनि दिन नपाउने भएकोले विद्यार्थीहरुलाई अरु नै स्कुलको सर्टिफिकेट दिने गरेका छन्  । –  पथरीबाट गोपाल काफ्लेेको सहयोगमा