सुकुना माविको लापरबाहीका कारण फ्रिज हुनै लाग्यो सरकारले दिएको डेढ करोड अनुदान

  • ८ बैशाख २०७६, आईतवार

सुन्दरहरैंचा नगरपालिकामा अबस्थित सुकुना माविलाई नमूना बिद्यालयको रूपमा छनौट गरी नेपाल सरकारले दिएको डेढ करोड रुपैयाँ फ्रिज हुने अबस्थामा पुगेको छ ।

विद्यालयको लापरबाही र मापदण्ड पालनामा भएको हेलचेक्र्याइंका कारण चालू आर्थिक बर्षमा दिएको डेढ करोड रुपैयाँ फ्रिज हुने अबस्थामा पुगेको हो । सुन्दरहरैंचा नगरपालिकाका अनुसार साबिक शिक्षा बिभाग तथा हालको शिक्षा तथा मानव श्रोत बिकास केन्द्रले नमूना विद्यालय ब्यबस्थापन निर्देशिका बमोजिम सुकुना माविलाई नमूना विद्यालयको रूपमा छनौट गरी आर्थिक बर्ष २०७५/०७६ मा  डेढ करोड रुपैयाँ अनुदान दिएको थियो ।

भौतिक पुर्वाधार निर्माण, बिज्ञान प्रयोगशाला तथा पुस्तकालय ब्यबस्थापन र थप शिक्षक ब्यबस्थापन जस्ता शिर्षकमा शैक्षिक तथा भौतिक कार्यक्रम संचालन गर्न सक्नेगरी नगरपालिका मार्फत सरकारले सो अनुदान दिएको थियो । तर अनुदान प्राप्त गर्नका लागि विद्यालयले कतिपय प्राबधान पूरा गर्न नसकेकोले अनुदान निकासा हुन नसकेको सुन्दरहरैंचा नगरपालिकाको शिक्षा शाखाका सेक्सन अफिसर सन्तोष बरालले बताए ।

सुकुना माविलाई नमूना विद्यालयकै रूपमा गत बर्ष समेत शिक्षा बिभागले ४४ लाख अनुदान दिएको थियो । बरालका अनुसार सुकुना माविले हालसम्म आर्थिक बर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदन समेत उपलब्ध गराएको  छैन । गत बर्षको अनुदान के कसरी खर्च भयो र सरकारले नि:शुल्क पाठ्यपुस्तक र छात्रवृत्तिका लागि दिएको रकम कसरी खर्च भयो भन्ने कुरा लेखा परिक्षण प्रतिवेदनमा मात्र देखिने भएपनि स्कुलले लेखा परिक्षण गरिसकेको छैन । हाल लेखा परिक्षणको काम भइरहेको विद्यालयले जनाएको छ । तर लेखा परिक्षण नसकिएको भएपनि बजेट निकासाका लागि विद्यालयले नगरपालिकालाई दबाब दिंदै आएको नगरपालिका स्रोतले जनाएको छ । सुकुना माविको लेखा परिक्षण प्राप्त नहुँदा यस बर्ष सरकारले सामुदायिक विद्यालयहरुका लागि दिएको नि:शुल्क पाठ्यपुस्तक र छात्रवृत्तिको रकम निकासामा समेत असर पर्ने अबस्था आएको बरालले बताए । सो रकम एकैपटक निकासा हुने गरेकोमा अडिट नगरेका स्कुलको रोक्का गरेर अन्य रकम निकासा गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी नमूना विद्यालय ब्यबस्थापन निर्देशिका २०७४ बमोजिम अनुदान प्राप्त गर्नका लागि विद्यालयमा ब्यबस्थापकीय पक्ष मात्र हेर्नेगरी पुर्णकालीन प्रधानाध्यापक नियुक्त भएको हुनुपर्छ । तर सुकुना माविमा पुर्णकालीन प्रधानाध्यापक छैनन् । लक्ष्मीकुमार श्रेष्ठ सुकुना क्याम्पसको क्याम्पस प्रमुख समेत भएकोले उनी सुकुना माविका पुर्णकालीन प्रधानाध्यापक मानिदैनन् । निर्देशिका अनुसार नमूना विद्यालयको लागि विद्यालय ब्यबस्थापन समितिले करारमा नियुक्त गरेको पुर्णकालीन प्रधानाध्यापक हुनुपर्छ । तर ब्यबस्थापन समितिले त्यस्तो प्रधानाध्यापक नियुक्त गरेको छैन ।

अनुदानबाट  नमूना विद्यालयका पूर्णकालीन प्रधानाध्यापकले खाइपाइ आएको तलब स्केलको एक तिहाई बराबरको रकम प्रधानाध्यापक भत्ता लिन पाउने प्राबधान छ तर अनुदान प्राप्त गरिहालेमा पनि श्रेष्ठले सुकुना क्याम्पसको क्याम्पस प्रमुख छाडेर सुकुना माविको पुर्णकालीन प्रधानाध्यापक नभएसम्म सो भत्ता लिन पाउँदैनन् ।

अर्कोतर्फ लक्ष्मीकुमार श्रेष्ठले नमूना विद्यालयको प्रधानाध्यापक हुने उमेर नाघिसकेको छ । जिल्ला शिक्षा कार्यालय मोरङले सुन्दरहरैंचा नगरपालिकालाई उपलब्ध गराएको रेकर्ड अनुसार श्रेष्ठको जन्म २०१९ असार ३ गते भएको हो । त्यस हिसाबले उनको उमेर हाल ५६ बर्ष पुगिसकेको छ तर नमूना विद्यालयको प्रधानाध्यापक ५५ बर्ष ननाघेको हुनुपर्ने नमूना विद्यालय ब्यबस्थापन निर्देशिकामा उल्लेख गरिएको छ ।

त्यसो त सुकुना माविले स्कुलको बिकासका लागि गुरुयोजना समेत निर्माण गरिसकेको छ । जस अनुसार सो अनुदान रकमबाट एउटा ४ कोठे आरसीसी भवन र भवनको माथिल्लो तलामा ट्रष्ट लगाएर छानो भएको कक्षाकोठा बनाउने स्कुलको योजना छ । तर अब सबै प्राबधान पूरा गरिहालेमा पनि आर्थिक बर्ष सकिन लागिसकेकोले स्कुलले सो अनुदान पाउने संभावना न्यून रहेको शिक्षा शाखाका निमित्त प्रमुख समेत रहेका बराल बताउँछन् । उनका अनुसार सो अनुदानको रकम गत असोज महिनातिर नै निकासा भएर नगरपालिकामा आइपुगेको थियो ।

सुकुना माविका प्रधानाध्यापक लक्ष्मी कुमार श्रेष्ठले अनुदान अनुसारका सबै संरचना तयार भइ सकेको र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएकोले सो रकम निकासा हुन बाँकी रहेको बताए । सो रकम नगर कार्यपालिकाबाट पारित भइ सकेको र निकासा गर्न केन्द्रिय सरकारले निर्देशन समेत गरिसकेको उनले दाबी गरे । नमूना विद्यालयमा पुर्णकालिन प्रधानाध्यापक हुनुपर्ने प्राबधान रहेकोबारे प्रश्न गर्दा उनले सो रकम प्रधानाध्यापकलाई नभई बिद्यालयको लागि आएको जिकिर गरे । उनले सो रकम फ्रिज भएमा त्यसको जिम्मेवारी नगरपालिका हुने बताए ।

सुकुना मावि उत्तरी मोरङकै राम्रो सामुदायिक विद्यालयमा गनिंदै आएको छ । यो विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन हुँदै आएको छ ।अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दा शुल्क लिने गरेको स्कुलले अङ्ग्रेजी र नेपाली माध्यमका कक्षाको बेग्लाबेग्लै रिजल्ट निकाल्ने गरेको छ । – अम्बिका भण्डारी