चार करोड लागतमा धनकुटामा बन्ने भो शिक्षण अस्पताल, पुर्वी पहाडका जनतालाई ठूलो राहत
- ३ असार २०७६, मंगलवार
धनकुटामा पुर्वी पहाडी जिल्लामै सबैभन्दा ठूलो शिक्षण अस्पताल बन्ने भएको छ ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले आइतबार प्रदेश संसदमा बजेट प्रस्तुत गर्दै धनकुटामा विभिन्न विशेषज्ञ सवासहितको शिक्षण अस्पताल सञ्चालन गर्न चार करोड रुपैयाँ बजेट विनियोजनको घोषणा गरेसँगै धनकुटा जिल्लामा प्रदेशस्तरीय शिक्षण अस्पताल निर्माण हुने सुुुुनिश्चित भएको हो ।
स्थायी राजधानी धनकुटालाई बनाउन प्रदेश सरकारले नसकेपनि प्रदेश स्तरीय शिक्षा विकास निर्देशनालय, स्वास्थ्य निर्देशनालय, मुख्य मन्त्रीको सम्पर्क कार्यालय र यातायात सेवा कार्यालय धनकुटामा स्थापना भइसकेका छन् ।
शिक्षण अस्पताल बनाउने घोषणा भएसँगै धनकुटेलीहरुमा खुसी छाएको छ । तर प्रदेश सरकारले शिक्षण अस्पतालको आश्वासन मात्रै देखाउन खोजेको हो कि भन्ने आशंका धनकुटाबासीलाइ छ ।
प्रदेशको राजधानी नभएपनि ५ सय बेडको शिक्षण अस्पताल माग गरेको र त्यसका लागि प्रदेश सरकारले बजेट विनियोजन पनि गरेकोले चाँडै कार्यान्वयनको अपेक्षा गरेको धनकुटाका स्थानीय सुन्दरबाबू श्रेष्ठले बताए ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा धनकुटामा शिक्षण अस्पताल निर्माण समावेश गरेपछि त्यसका लागि धनकुटामा रहेको कृषि ज्ञान केन्द्र र चुलिवनमा रहेको ट्रस्टको जग्गा स्थलगत अनुगमन गरी छनोट गरिएको प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले बताइन्। यता धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले धनकुटामा प्रशस्त सरकारी जग्गा रहेकाले शिक्षण अस्पताल बनाउन जग्गा खाँचो नहुने बताए ।