व्यापक आलोचना र चर्को दबाबपछि संस्थाकै नाममा फिर्ता भो सहारा बालग्रामको जग्गा
- १४ भाद्र २०७६, शनिबार
व्यापक आलोचना र चौतर्फी दबाबपछि मोरङको बेलबारी २ लालभित्तिमा रहेको सहारा बालग्रामको जग्गा पुनः संस्थाकै नाममा फिर्ता भएको छ ।
सहाराको नाममा रहेको १ विगाहा ८ कट्ठा ३ धुर जग्गा खरिद गरेका इटहरीका व्यवसायी डम्बरबहादुर तामाङले शुक्रबार दिउँसो सहाराको नाममा जग्गा फिर्ता गरिदिएका हुन् । सहराको नाममा जग्गा फिर्ता गर्ने प्रकृयाका लागि सहाराको तर्फबाट प्रतिनिधी बनेर भिमराज बस्नेत मालपोत कार्यालय बेलबारी पुगेका थिए ।
सहाराका तर्फबाट १ करोड रुपैयाँको मुल्य कायम गरेर जग्गा किन्ने निर्णय पुस्तिका र प्रतिनिधि तोकिएको पत्रका आधार प्रकृया अघि बढाइएको थियो ।
जग्गा फिर्ता प्रकृयाका लागि लाग्ने आवश्यक कर छुटका लागि बेलबारी नगरपालिकाले पत्र समेत लेखिदिएको थियो । नगरपालिकाको पत्रको आधारमा १ करोड मुल्यांकनको सो जग्गाको लाग्ने जम्मा करमा ५० प्रतिशत छुट गरी २ लाख रुपैयाँ राजस्व समेत बुझाइएको छ ।
सो राजस्व पनि व्यवसायी डम्बर तामाङले नै तिरेका छन् ।
२०७५ मंसिरमा जिल्ला अदालतको आदेशका आधारमा तामाङको नाममा गएको जग्गा ९ महिनापछि पुनः संस्थाकै नाममा आएको हो । सहाराको नाममा फिर्ता भएका जग्गाको कित्ता नम्बर पुरानै रहने भएका छन् ।
नेकपाका नेता एवम् पुर्वसांसद हर्कमान तामाङ, सहाराका वर्तमान अध्यक्ष शिवप्रसाद बराल लगायतको मिलेमतोमा सहाराको जग्गा डम्बरबहादुर तामाङको नाममा गएको थियो । तामाङ र बराल सहित केही ब्यक्तिहरु सहाराका सबैजसो बैठकमा जाने गरेको र उनीहरूले नैै सहाराको जग्गामा राखिएका परिवारलाई तुरुन्त ठाउँ छाड्न दबाब दिने गरेकोले जग्गा बिक्रीमा उनीहरूको पनि मिलेमतो भएको आशंका गरिएको छ ।
जग्गा बिक्री भएपछि नेकपाकै नेता कार्यकर्ता सहित स्थानीय राजनीतिक दल र संघसंस्थाहरु बिरोधमा उत्रिएका थिए ।
जग्गा बिक्री भएको सार्बजनिक भएपछि सत्तासिन नेकपाकै जनप्रतिनिधि सहित स्थानीय नेता कार्यकर्ता समेत सडकमा उत्रेका थिए । प्रतिपक्षी दल कांग्रेस, समाजबादी लगयतका दल र नेकपाले पनि बिज्ञप्ती निकाल्दै सडक तताएका थिए । अन्तःत जताततै दवाव सिर्जना भएपछि बिक्री भएको जग्गा शुक्रबार संस्थाकै नाममा फिर्ता गरिएको हो ।
घटनापछि नेकपाले एक छानबिन समिति गठन गरेको छ ,जसको म्याद आईतबारसम्मको छ ।