बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा पुग्यो धरान फुटबल क्लब

  • ८ आश्विन २०७६, बुधबार

धरान फुटबल क्लब मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा मदन भण्डारी स्र्पोट्स एकेडेमी काठमाडौंको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै धरान उपाधि होडमा पुगेको हो  ।

खेल शुरु भएको ५ औँ मिनेटमा धरानका बर्तमान राईले पहिलो गोल गरेका थिए भने खेलको ८० औँ मिनेटमा धरानकै कर्ण लिम्बुले दोस्रो गोल गरेका थिए । खेलको ८७ औँ मिनेटमा मदन भण्डारी स्पोर्टस एकेडेमीका शुसन तामाङले सान्त्वना गोल फर्काएका थिए ।

धरानको जितमा वर्तमान राई र कर्ण लिम्बूले एक/एक गोल गरे । एकेडेमीका सुशान्त तामाङले एक गोल फर्काए र धरानको तुलनामा उत्कृष्ट प्रदर्शन गरे पनि स्कोर निकाल्न नसक्दा एकेडेमीको फाइनल यात्रामा पूर्ण विराम लाग्यो । धरानले गोल गर्नका लागि खासै अवसर सिर्जना गर्न नसके पनि पाएका अवसरलाई सदुपयोग गर्दै एकेडेमीलाई रोकेर अघि बढ्यो । पहिलो सेमिफाइनल खेलमा धरानका रोशन भुजेल म्यान अफ दी म्याच भए ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफ र भारतबीच बिहीबार प्रतिस्पर्धा हुँदैछ । धरानले विभागीय टोली एपीएफ र रोयल क्लब भारतबीचको विजेतासँग शुक्रबार उपाधि रक्षाका लागि प्रतिस्पर्धा गर्नुपर्ने छ ।