एक अपाङ्ग, जसले दश वर्षदेखि ह्विल चेयरमै बसेर पढाए तर शिक्षकको दर्जा पाएनन्

  • १४ आश्विन २०७६, मंगलवार

केशु विरही, बेलबारी मोरङ \बेलबारी नगरपालिका वार्ड नं –१ कुसुमेका ५० वर्षीय विष्णु सुवेदी विगत १० वर्षदेखि शिक्षण पेसामा आवद्ध रहँदै आए पनि राज्यले उनलाई शिक्षकको दर्जा भने दिन सकेको छैन ।

२०६६ सालदेखि ४ वर्षसम्म उनले बेलबारीको मुटु बजारमा रहेको भगवती माविमा बालशिक्षामा पढाए । दैनिक रुपमा करिवा ४-५ किलोमिटर ट्राइसाइकलमा धाउन कठिन भए पछि उनी त्यहाँ छाडेर २०७० सालदेखि घर नजिकैको सहिद स्मृति आधारभूत विद्यालय बेलबारी –१ कुसुमेमा कार्यरतछन् । उनी घर नजिकै त आए तर त्यहाँ उनलाई शिक्षको रुपमा भन्दा पनि कार्यालय सहयोगीको रुपमा नियुक्ती गरियो । समाजका नजरमा विष्णु शिक्षक भए पनि राज्यका नजरमा भने उनी विद्यालयका सहायक कर्मचारी मात्र हुन् ।

हुन त कार्यालय सहयोगीको रुपमा नियुक्ती गरिए पनि उनको काम भने त्यहाँ पढाउने नै हो । उनलाई त्यहाँ एउटै कक्षामा बसेर दिनभरि पढाउन मिल्नेगरिको व्यबस्था गरिदिएको छ । उनी बिहान १० देखि ४ बजेसम्म एउटै कोठामा बसेर पढाउँछन् र घर फर्किन्छन् ।

अपाङ्गमैत्री विद्यालय भवन नहुँदा उनलाई साह्रै सास्ती भएको छ । उनी आफ्नै विद्यालयको एउटा कोठाबाट अरु कोठामा जान समेत सक्दैनन् । यतिसम्म कि विद्यालयको सौचालय समेत प्रयोग गर्न उनी सक्दैनन् । उनलाई कतिखेर ४ बज्छ र घर गएर दिसापिसा गरौँ भन्ने हुन्छ । अरु बेलाभन्दा पनि पेटमा गडवढी भएको बेलबामा चाहिँ साह्रै कठनि हुने उनी बताउँछन् ।

समाज जतिसुकै शिक्षित भए पनि अपाङलाई हेनै दृष्टिकोण राम्रो नभएको । समाजमा अझै पनि अपाङ्ग र सपाङ्ग बिचमा ठूलो विवेध रहेको उनको अनुभव रहेको छ । उनी आफू धेरै पटक त्यो विवेधको सिकार भएको पनि बताउछन् ।

उनको खुट्टाले आंसिक रुपमा मात्र काम गर्छ । उनी राम्ररी उभिनसम्म सक्दैनन । हिडडुल गर्दा समेत उनलाई कि ट्राइसाइक चाहिन्छ नत्र पुरै हात खुट्टाको सहायता लिनु पर्छ । उनी वरिपरि हिँडडुल गर्दा भने घिस्रेर नै हिँड्छन् । कही जानु पर्यो भने उनी घिस्रेरै ट्राइसाइकलसम्म पुग्छन् र ट्राइसाइकलको सहारामा अघि बढ्छन् । यसको अभावमा उनी कही कतै जान पनि सक्दैनन् ।

शारीरिक अवस्थाले गर्दा आवतजावत गर्न धेरै कठिन भएको ट्राइसाइकलका ठाउमा एउटा तीन चक्के स्कुटी भए केही सहिजो हुने थियो भन्ने लागेको छ उनलाई । तर आफ्नो आर्थिक अवस्थाले गर्दा आफूबाट त्यो सम्भव नभएको, यदि कुनै मनकारी संघ संस्थाले किनेदिए हुन्थ्यो भन्ने उनले आसा पनि लिएका छन् ।

खटाइ धेरै भएको, विद्यालयले दिएको पैसालेले राम्ररी चियानास्ता गर्न समेत नपुग्ने उनको गुनासो रहेको छ । नगरपालिकाले आफ्नो अवस्था थाहा पाएर आफूलाई राहात कुनै दरवन्दीमा भए पनि राखिदिएहुन्थ्यो भन्ने लागेको छ उनलाई ।

उनी बिहान बेलुका घरमा विद्यार्थीहरुलाई ट्युसन पढाउँछन् । ट्युसनवापत आएको रकमले घरखर्चमा भरथेग गरेको उनी वताउँछन् ।

शारीरिक रुपमा अपाङ्ग भए पनि विद्यार्थीलाई पढाउने कुरामा विष्णुले कुनै कसरत बाँकी राखेका छैनन् । कक्षामाहोस् वा घरमा ट्युसन पढ्न आउनेलाई उनी राम्ररी सन्तुष्ठ बनाएर पठाउँछन् । विष्णु सरले आफूलाई राम्ररी वुझाएर पढाउने, उहाँले पढाएको पनि राम्ररी बुझने उनीसँग पढ्ने विद्यार्थीहरु बताउँछन् ।

विद्यालयका शिक्षक सहकर्मी ईश्वरा खड्का विष्णु सर साह्रै मिलनसार र त्यतिकै दयालु रहेको, शारीरिक असंक्षमताका वावाजुज पनि उहाँले विद्यालमा ठूलो योगदान रहेको वताउछिन् । विष्णु सरकालागि स्थानीयपालिकाले केही गर्नु पर्ने उनको मत रहेको छ ।

विष्णु परीश्रमी छन् र त्यतिकै सहयोगी पनि । दिउसो विद्यालय गए पनि बिहान बेलुका घरमा भएको वेलामा आफूले सकेको काममा सहयोग गर्दै आएका छन् । अपाङ्ग भएर पनि दाजुले घर व्यवहारमा ठूलो सहयोग पुर्याउँदै आएको विष्णुकी बुहारी सीता सुवेदी बताउँछिन ।

विष्णु शिक्षणका अलावा विगत लामो समयदेखि साहित्य साधनामा पनि उतिकै सक्रिय छन् तर कसैसँग पनि सम्पर्क नहुँदा आफ्ना रचनालाई अरु सामु पुर्याउन भने सकेका छैनन् । रकमकै अभावले आफ्ना रचनालाई कृतिको रुप दिन नसकेको उनी बताउँछन् ।

त्यसो त स्थानीयस्तरमा च्याउसरि उम्रेका थुप्रै साहित्यिक संघ संस्थाहरु छन् । तिनीहरु वर्षेनी विभिन्न व्यक्तिहरुका कृतिहरु प्रकाशित गर्ने गरेका छन् तर ती संस्थाहरुको नजरमा विष्णु सर पर्न सकेका छैनन् ।

शारीरिक अपाङ्गता रहेका विष्णु आर्थिक रुपमा पनि त्यतिकै कमजोर छन् । भएको केही कठ्ठा जमिन पनि लाेहाेन्द्राले पुरेर बगरमा परिणत भएको छ । हाल विष्णु भाइ बुहारीसँग बस्दै आएका छन् ।

उता बेलबारी नगरपालिका वार्ड नं १ का वाडाध्यक्ष चक्रबहादुर खुलाल भने नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गरिरहेको वताउँछन् । विष्णु सरले एउटा तीनचक्के स्कुटी भए हिँडडुल गर्न सजिलो हुनेथियो भन्नु भएको छ । यो वाडाको मात्र बजेटले सम्भव नहुने भएकोले आफूले उक्त प्रस्ताव नगरपालिकामा लगेको बताउँछन् ।