सुनसरी, पांँचथर र संखुवासभामा पनि चुनावी रन्को, कहाँबाट को बन्ने भए नेकपाका उम्मेदवार ?

  • १७ कार्तिक २०७६, आईतवार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वले आउँदो मंसिर १४ गते हुने उप-चुनावका लागि उम्मेदवार छनोट गरेको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाको स्थानीय  कमिटी बैठकले जिल्ला सदस्य तथा सुनसरी १ का संयोजक प्रकाश राई, जिल्ला सदस्य तथा धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ) तथा जिल्ला सदस्य बेणु काफ्लेकाे नाम सिफारिस गरेकाे थियो  ।

संखुवासभा र पाँचथरमा पनि चुनावी माहोल 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सङ्खुवासभा जिल्ला कमिटीले मकालु गाउँपालिकाको अध्यक्षको उपनिर्वाचनमा जिल्ला कमिटी सदस्य तेजबहादुर पोखरेललाई उमेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ । सो गाउँपालिकाका अध्यक्षको दुर्घटनामा परी निधन भएको थियो ।

त्यसो त पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पनि  अध्यक्ष अमर कुमार नेम्बाङको निधन भएको कारण सो पदका लागि उपनिर्वाचन हुँदैछ । त्यहाँ नेकपाबाट वीर बहादुर कुरुम्बाङ उम्मेदवार बन्ने भएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार पनि चयन 

नेकपाले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला ओली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाइएको छ ।

भट्टराई यसअघि कास्की २ बाट निर्वाचित सांसद रविन्द्र अधिकारीकी पत्नी हुन् भने ओली सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार ओलीकी पत्नी हुन् । बाग्लुङ २ ख मा भने राष्टिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ  ।

बाँकेको कोहलपुर नगरपालिकाको वडा नं ६ मा पनि उपनिर्वाचनको माहोल बढ्दै गएको छ।

त्यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ। कोहलपुर–६ मा दलहरुले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटी निर्माण गरेर चुनावी गतिविधिलाई तीव्र बनाएका छन् ।