हटाइए सातै प्रदेशका प्रदेश प्रमुखहरु, अब कुन प्रदेशमा को आउलान् ?

  • १७ कार्तिक २०७६, आईतवार

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी छन्।

केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख २२ महिनापछि पदमुक्त भएका हुन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा २०७४ माघ ३ मा प्रदेश प्रमुखहरू नियुक्त भएका थिए । प्रदेश प्रमुख हटाउने सरकारको निर्णयमा प्रतिपक्ष कांग्रेसले बिरोध जनाएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) अनुसार उनीहरूलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिएका छन् ।

पदमुक्त हुनेहरूमा प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बहाङ (धनकुटा), प्रदेश २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौ), प्रदेश ३ का अनुराधा कोइराला (काठमाडांै), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल ( कैलाली) हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो । सरकारले आइतबार नै बेलुकी मन्त्रिपरिषद् बैठक डाकेर प्रदेश प्रमुख नियुक्तिको तयारी गरे पनि नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखका नाममा सहमति बन्न नसकेकोले मन्त्रिपरिषद्को सोमबार बस्ने बैठकले प्रदेश प्रमुखहरुको टुंगो लगाउने बताइएको छ ।

संविधानको धारा १६५ को उपधारा १ को खण्ड (ख) मा प्रदेश प्रमुखको पदावधि ५ वर्ष हुने भनिए पनि राष्ट्रपतिले पदावधि समाप्त हुनुअगावै पदमुक्त गर्न सक्ने व्यवस्था छ। धारा १६५ को उपधारा १ को खण्ड (ख) मा निजको पदावधि समाप्त भएमा वा सोअगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा पदावधि समाप्त हुने व्यवस्था छ।

पदमुक्त गरिएका प्रदेश प्रमुखहरु ५ जना कांग्रेस र २ जना  मधेसी दलका बीचमा भागबन्डा गरेर नियुक्त गरिएको थियो।