‘ब्लडमनी’ तिर्न नसक्दा साउदीमा मृत्युदण्ड कुर्दै राजकुमार, परिवारद्वारा सहयोगको याचना

निशा ओली

  • ४ मंसिर २०७६, बुधबार

रुँदारुँदा आँसु नओभाएका आँखा, बूढो तथा थकित शरीर, प्रेसरको बिरामी, बिल्कुलै नौलो लाग्ने सहर, छोरीको सहारामा मेनपावरको बाहिर बसेर ७५ वर्षीय आमा छोरालाई सात समुद्र पारीबाट नेपाल फर्काउने  प्रयासमा छिन् ।

आमाबुबालाई सुख दिन्छु, छोरालाई राम्रो विद्यालयमा पढाउँछु, लागेको ऋण तिर्छु भनेर २०६७ सालमा कतार गएका राजकुमार निउरे कम्पनीले भने जस्तो तलब नदिएपछि ८ महिनापछि नेपाल फर्केर आए । आर्थिक अवस्था एकदमै कमजोर भएकाले उनले नेपालमा बसेर केही गर्छु भनेर आँट गर्न सकेनन् । एकातिर पहिले विदेश जाँदाको ऋण अर्कातपर्फ जेठो छोराको कर्तव्य । अन्ततः उनी फेरि विदेसिन बाध्य भए ।

म्याग्दी जिल्ला दरबाङ गाविस वडा नम्बर ९ स्थायी घर भएका दतिलाल निउरेका छोरा राजकुमार निउरे धेरै आशा, सपना, इच्छा र आकांक्षा पूरा गर्ने अभिलासा बोकेर पुनः विदेश जान भनेर काठमाडौं आए । काठमाडौंको हात्तीगौँडास्थित गल्फ म्यानपावरलाई १ लाख २० हजार रुपैयाँ बुझाएर २०६८ साल जेठ महिनाको २९ गते उनी साउदी अरब उडे ।

हिँड्ने बेला आमालाई अब हामीलाई दुःख हुँदैन, आमालाई सुखसँग राख्छु भन्दै साउदी गएका निउरेलाई दुःखले भने कहिल्यै छाडेन । त्यहाँ गएपछि पनि कम्पनीले भने जस्तो तलब नदिएपछि परिवारको दुःख सम्झेर धेरै पैसा कमाउने अभिलासामा केही साथीहरुको कुरा सुनेर अवैधानिक रुपमा काम गर्न थाले ।

एकदिन काम सकेर कोठा फर्किंदै थिए । बाटोमा २ जना साथीको झगडा भइरहेको देखे । छुट्याउन जाऊँ कि नजाऊँ भन्दै दोधारे मन बनाएर उनी हिँडे । अलि पर पुगेपछि आफ्नै नेपाली साथी रहेको पत्तो पाएर उनी छुट्याउन गए । उक्त झगडामा १ जनाको घटनास्थलमै ज्यान गयो भने अर्का १ जनालाई अस्पताल भर्ना गरियो । मोरङको लेटाङ घर भएका कमल वस्तीको उपचारका क्रममा २ दिनपछि निधन भयो ।

उनको निधनसँगै राजकुमारलाई बज्रपात आइलाग्यो । ज्यान जोगाएर अस्पतालसम्म पु¥याउने उनीमाथि नै कमललाई मारेको झुटो आरोप लाग्यो । त्यो बिरानो सहरमा म निर्दोष छु भनेर रोइकराई गर्दा पनि सुनिदिने कोही भएन । अन्ततः उनलाई ५ वर्ष जेल सजाय र ३० लाख क्षतिपूर्तिको माग गरेर जेल जलान गरियो ।

त्यो खबर सुनेपछि छोरा विदेशमा कमाउन गएको छ हामीलाई सुखसँग राख्छ भनेर बसेकी आमाको प्रेसर एकाएक हाई भएर अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आयो । पाँच बर्ष अघिको कुरा हो यो । १५ दिनको उपचारपछि उनी घर त फर्किइन् तर छोराले खायो कि खाएन, बा कुट्यो कि, त्यो बिरानो ठाउँमा भोकभोकै पो मर्ने हो कि भनेर चिन्ताले खाइरह्यो । ५ वर्षदेखि उनकोे अवस्था यही नै छ ।
ऋण खोजेर छोरालाई साउदी पठाएका राजकुमारको परिवारसँग ‘ब्लड मनी’ बुझाउने जायजेथा र क्षमता छैन । साउदी अदालतले फैसला सुनाएको पनि ५ वर्ष कटिसक्यो । उनले जेल सजाय त भोगे । तर मृतक कमलको परिवारलाई ब्लड मनी नबुझाएसम्म उनी नेपाल आउन पाउँदैनन् ।
तीन वर्षदेखि दिदी पूनम केसी र भिनाजु तमबहादुर केसी भाइलाई नेपाल ल्याउन सहयोग जुटाउन लागिपरेका छन् । हाल काठमाडौंमा रहेर छोरालाई नेपाल ल्याउन पहल गरिरहेका आमा हरिमाया निउरे र दिदी पूनमको आँखाबाट आँसुको भेल रोकिएको छैन ।

आमा हरिमाया छोराको  पिरले विक्षिप्त बनेकी छिन् । मानसिक तनावका कारण उनी बारम्बार बिरामी भइरहन्छिन् । छोरा परदेशमा नै मर्ने भयो, नेपाल ल्याउनुप¥यो सबैले सहयोग गरिदिनुहोस् भनेर उनी सहयोगका लागि अपील गरिरहेकी छिन् ।

‘जेलमा नआत्तिईकन बस्, जसरी पनि तेरो उद्धार गर्छु’ भनेर छोरालाई सम्झाए पनि निउरे परिवार आफैँ रुनु न हाँस्नुको अवस्थामा छ । उनका भाइ र परिवार गाउँ घरमा आउने जोकोहीलाई दाइलार्ई मृत्युको मुखबाट बचाउन ‘ब्लड मनी’ जुटाइदिन अपिल गरिरहेका छन् भने आमा र दिदी काठमाडौंमा भौँतारिरहेका छन् ।
दिदी पूनम भन्छिन्, ‘छोराको प्रसंग आउनासाथ आमा  बिलौना गर्न थाल्नुहुन्छ । उहाँको स्वास्थ्य अवस्था हेरेर हामीले दुःख लुकाउने प्रयास गर्छाैं । तर सहयोग गर्ने  कोही नभएकोले सहयोग जुटाउन आमालाई नै काठमाण्डौं ल्याएका हौं । तर पनि छोराको पीरले बिरामी पर्नुभएको छ । हामीले सम्झाउनै सकेका छैनौँ ।’

त्यसो त ६ महिनाको छोरा बोकेर आफ्नो भाइ बचाउन सहयोग अभियानमा जुटेकी दिदीको कहानी पनि कम दर्दनाक छैन । एकातिर राजकुमारलाई अहिले १७ लाख रुपैयाँ ऋण छ भने अर्कातर्फ व्लड मनीबापत २० लाख रुपैयाँ कमलको परिवारलाई बुझाउनुपर्ने बाध्यता छ ।

हुन त मृतक कमलको परिवारले सुरुमा ३० लाख ब्लड मनी मागेका थिए तर राजकुमार निर्दोष रहेको थाहा पाए पनि २० लाख माग गरेका छन् ।
राजकुमारको परिवारले ब्लड मनीको लागि सहयोग गरिदिन सबैैैमाअपिल गरेेेका  छन् ।  सहयोग गर्न चाहनेले पूनम केसीको मोबाइल ९८६७६४१३१२, ९८४७९४८२५३  वा योगेन्द्र न्यौपानेको मोबाइल ९८४९९९२१७० मा सम्पर्क गर्न सकिने छ । यसैगरी आमा हरिमाया निउरेको नाममा भएको सिद्धार्थ बैंक गोंगबु शाखाको खाता नम्बर ०१६१५५१८५६७ मा रकम जम्मा गरी सहयोग सहयोग गर्न परिवारजनले अनुरोध गरेेेका छन् ।