सशस्त्र प्रहरीले सुनसरीमा भत्कायो दसगजा क्षेत्रमा बनाइएका घर–टहरा

  • ७ मंसिर २०७६, शनिबार

सशस्त्र प्रहरीले नेपाल–भारतको दसगजा क्षेत्रमा बनाइएका घर–टहरा हटाएको छ ।

सशस्त्र प्रहरी बल साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँगको सहकार्यमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट इन्स्पेक्टर श्यामबाबु राय यादवको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतीय सीमा सुरक्षा बल ५६ बटालियन ए कम्पनी पथदेवाबाट एएसआई मूलराज शर्मा नेतृत्वको एसएसबीको टोलीले संयुक्तरूपमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका अनुसार सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडानम्बर ४ इटरी र भारत विहार राज्यको अररिया जिल्ला सोनापुर ग्रामपञ्चायत १७ गुवारपुच्छीमा पर्ने नेपाल–भारत सीमास्तम्भ नं १८५ र एए ९७४ (मुख्य) देखि सीमास्तम्भ नं. १८४ (मुख्य) सम्म बनाइएका घर टहरा हटाइएको छ ।

बोर्डर इलाकामा नेपालतर्फबाट दशगजा अतिक्रमण गरी बनाइएका ११ वटा घर–टहरा र भारततर्फबाट समेत दसगजा अतिक्रमण गरी बनाइएका ४ वटा घर–टहरा र अन्दाजी १ कठ्ठा १० धुरमा लगाइएको  बाली तथा केराखेती नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीका डिएसपी मित्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार नेपालतर्फबाट दसगजा अतिक्रमण गरी बनाइएका सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडानम्बर ४ इटरीका पडाडी ठाकुर, भगवान ठाकुर, उमान्द ठाकुर, लक्ष्मी ठाकुर, महेश मेहता, रमेश मेहता, रामदेव मेहता, तेजनारायण मण्डल, रामानन्द मण्डल, किशन मण्डल र कोइथु मण्डलको घर –टहरा र तरकारी बाली तथा केराखेती सशस्त्र प्रहरीले नष्ट गरेको ब्लाष्ट खबरले उल्लेख गरेको छ ।

यसैगरी दसगजा अतिक्रमण गरी बनाएको भन्दै सशस्त्र प्रहरी र भारतीय एसएसबीले जिल्ला अररिया सोनापुर ग्रामपञ्चायत १७ गुवारपुच्छी बस्ने बरामकिशन मेहता, सदान्न मेहता र महम्मद मनसुरको दुईवटा गरी चारवटा घर टहरा हटाएको छ । स्थानीय बासिन्दाले भने सशस्त्र प्रहरीले बिना कुनै जानकारी दसगजाबाट घर–टहरा हटाएको गुनासो गरेका छन् ।