अन्तराष्ट्रिय कराँते प्रतियाेगितासँगै खेलकुदमय बन्यो बेलबारी, ६ देशका ६ सय ५० खेलाडी बेलबारीमा

  • ७ मंसिर २०७६, शनिबार

केशु विरही/अम्बिका भण्डारी, बेलबारी, माेरङ/ नेपाल लगायत विभिन्न ६ देशका खेलाडीहरुकाे सहभागिताले बेलबारी खेलकुदमय वनेकाे छ ।

बेलबारी नगर सितेरियो कराँते संघको आयोजनामा बेलबारीमा नोबेल अन्तराष्ट्रिय कराँते प्रतियोगिता शनिबार  सुरु भएपछि बेलबारी खेलकुदमय बनेको हो  ।

मोरङको बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा भएको प्रतियोगितामा नेपालका सातै प्रदेशका खेलाडी सहभागी छन् । जसमा प्रदेश ६ बाट ४ टीम, प्रदेश २ बाट ५ टीम, प्रदेश ३, ४, ५ र ७ बाट एक एक टीम तथा प्रदेश १ का विभिन्न जिल्लाबाट ३० टीम गरी नेपालका ४३ टीम सहभागी छन् ।

त्यसैगरी भारतको कर्णाटक, गुजरात, अरुणाान्चल, पश्चिम बंगाल र सिक्कमबाट गरी ५  टीम सहभागी  छन् । त्यस्तै भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तानबाट एक एक टीम गरी जम्मा ५२ वटा डोजो क्लबका टीम सहभागी छन् । ५२ टीमबाट  देशका ६ सय ५० भन्दा धेरै कराँते खेलाडीहरु सहभागी रहेको आयोजकले जनाएका छन् ।

प्रतियोगिता अन्तर्गत शनिबार खासगरी जुनियर तर्फका काता र कुमुतेका प्रतियोगिताहरु भएका छन् । ८५ स्वर्ण, ८५ रजत र दोब्बर कास्य गरी खेलका कुल ३ सय ४० पदक मध्ये पुरुषतर्फ २५ देखी ६७ केजी सम्मका खेलाडी भिड्ने छन् भने महिला तर्फ  २५ देखि ६१ केजी सम्मका खेलाडी सहभागी छन् ।

शनिबार भएका खेलबाट ३० वटा स्वर्ण पदक सहित ३० रजत  र ६० कास्य गरी १ सय २० पदकको छिनोफानो भएको छ ।

शनिबार उद्घाटन कार्यक्रमपछि  तीनतिर  गरी एकैपटक तीनवटा प्रतिस्पर्धाहरु गराइएको थियो । प्रतियोगिता जारी रहँदा रात परिसक्दा पनि सैंयौंं दर्शकहरुको भिडभाड देखिन्थ्यो ।

प्रतियोगिता अन्तर्गत शनिबार भएका खेलका  विजयी खेलाडीहरुलाई मुख्यमन्त्री राई र बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पुरस्कार तथा मेडल वितरण गरेका थिए  ।

विभिन्न तौल समुहमा ८५ स्वर्ण, ८५ रजत र १ सय ७० कास्य गरी जम्मा ३ सय ४० पदकका लागि प्रतिष्पर्धा भइरहेको छ । सिनियर,जुनियर,महिला तथा पुरुष तर्फका छुट्टाछुट्टै प्रतिष्पर्धाहरु हुने छन् ।

प्रतियोगिताको टिम च्यापियनले नगद एक लाख, दोस्रो हुनेलाई ७५ हजार र टिम तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने संघकी सदस्य सचिव कुन्ती गूरुङले जानकारी दिएकी छिन्  ।
नोवेल मेडिकल कलेज विराटनगर मूख्य प्रयोजक रहेको सो प्रतियोगितामा स्थानीय सरकार अर्थात  बेलबारी नगरपालिकालेे १ लाख रुपैयाँ  मात्रै सहयोग गरेको छ ।

आइतबार पनि विहानैबाट प्रतिष्पर्धा सुरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको समापन आइतबार गर्ने कार्यक्रम छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सबै खालका खेलको विकास गर्ने र खेलाडीलाई खेलको उपयुक्त वातावरण निर्माण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले ४२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । विदेशका समेत खेलाडीलाई सहभागी गराएर भव्य प्रतियोगिता आयोजना गरेकोमा राईले आयोजकको समेत प्रशंसा गरे ।

उद्घाटन कार्यक्रममै विभिन्न अवसरमा डेल्टा अङ्ग्रेजी स्कुल बेलबारी तथा विभिन्न जातीय संस्कृति जनाउने विभिन्न झाँकीहरुकाे पनि प्रस्तुति समेत रहेकाे थियाे ।

सो अबसरमा विभिन्न ब्यक्तिहरुलाई सम्मान पनि गरिएको छ । मोहन थापालाई मरणोपरान्त सम्मान गरिएको छ । मोहनकी श्रीमती मिना थापालाई सम्मानपत्र प्रदान गरिएको थियो । यस्तै पुर्व फुटबल खेलाडी सलबहादुर धिमाल, कराँते खेलाडीहरु भीम तामाङ, ताराबहादुर कार्की, सञ्चारकर्मी अर्जुन राईलाई सम्मान गरिएको हो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा काे उद्घाटन कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, नेपाल कम्यसनिष्ट पार्टी (नेकपा) का संयाेजक पर्शुराम सुवेदी, नेपाली काङ्ग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, सङ्घीय समाजवादीका अध्यक्ष तिलक राई, बेलबारी नगरपालिकाका विभिन्न वाडाध्यक्षहरु, नगरकार्यसमिति सदस्यहरु लगायत विभिन्न राजनैतिक पार्टी प्रतिनिधि, जातीय संघ संस्था, खेलाडी तथा खेलसँग सम्वन्धित संघसंस्थाहरुका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।