गोठगाउँमै सर्नेभो पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय, त्यहीँ हुनेभो नवौं दीक्षान्त समारोह
दिक्षान्त समारोहमा प्रधानमन्त्रीलाई ल्याउने योजना
- १२ मंसिर २०७६, बिहीबार
पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँमा सर्ने भएको छ ।
पूर्वाञ्चलको मुख्य कार्यालय गोठगाउँमा सार्न प्रक्रिया चलिरहेको र गोठगाउँमा मुख्य कार्यालय सार्न कर्मचारीको मनस्थिति पनि परिवर्तन हुँदै गएको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले बताए ।
गोठगाउँमा विश्वविद्यालयको मुख्य कार्यालय राख्ने पहल गरिएको सन्देश प्रवाह गर्न हालै पछिल्लो कार्यपालिका बैठक विश्वविद्यालयमै आयोजना गरिएको ढकालले बताए । दीक्षान्त समारोहको तयारी र सहयोगका लागि हालै गोठगाउँमै सर्वपक्षीय अन्तरक्रिया समेत गरिएको छ ।
त्यसो त पूर्वाञ्चल विश्वविद्यालयको नवौंं दीक्षान्त समारोह मंसिर २७ गते गोठगांउँमा नै हुने भएको छ । प्रधानमन्त्रीको स्वास्थ्य गडबड नभएमा मंसिर २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह गर्ने टुंगो लागिसकेको छ । दीक्षान्त समारोहको तयारी भब्य रूपमा भइरहेको छ ।
सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले दीक्षान्त समारोहलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै खालका सहयोग गरिने बताए ।
गोठगाउँस्थित पुर्वान्चल विश्वविद्यालय परिसरमा हालै भएको सुन्दरहरंचा नगरपालिकाको कार्यपालिका बैठकले विश्वविद्यालय प्रवेश गर्ने मुख्य बाटो गोठगाउँ चोक र चन्द्रनगरको बाटोलाई मर्मत गर्ने निर्णय गरेको छ । कार्यक्रम स्थलको सरसफाइ र हेलिप्याड निर्माण पनि गर्ने नगर प्रमुख ढकालले बताए ।
विश्वविद्यालय रजिष्ट्रार प्रमिला थापाले सुन्दरहरैंचा नगरपालिका, सबै सुरक्षा निकाय तथा सबै स्थानीय सङ्घ संस्थाहरूसँग समन्वय गरेर कार्यक्रम सम्पन्न गरिने बताइन् । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाको विशेष सहयोग रहेको उनले बताइन् ।
पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँको सभाहलमा सोमबार अन्तरक्रिया कार्यक्रम समेत गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धनमाया तामाङ, पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति बिजु थपलिया, पूर्वाञ्चल विश्वविद्यालय शिक्षा विभागका डीन शम्भु कोइराला, विज्ञान विभागका डीन शुभनारायण पाठक, परीक्षा नियन्त्रक प्रा. डा. सूर्य संग्रौला, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, सुन्दरहरैंचा नगरपालिकाका सबै वडाध्यक्ष, कर्मचारी तथा सुन्दरहरैंचा नगरपालिकामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।