योगतर्फ आकर्षित हुँदै केराबारीका बासिन्दा, देवीझोडामा जीवन बिज्ञान र योग शिविर चल्दै

  • २ फाल्गुन २०७६, शुक्रबार

अम्बिका भण्डारी / शुक्रबार एकाबिहानै ४ बजेतिर मोरङ केराबारी ९ देवीझोडास्थिति हिमालय बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पुग्दा करिब सयजना जति मानिसहरू उफ्रिरहेका थिए । सहकारीकै सभाहलको स्टेजमा खगेन्द्र न्यौपाने केही सिकाइरहेका थिए । न्यौपानेले जसो जसो गर्दै र भन्दै थिए,  अगाडि रहेका सबैजना त्यसै त्यसै गर्दै थिए ।  

हिमालय बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र बेलबारी नगरपालिकाको सहयोगमा पुस २५ गतेदेखि दैनिक बिहान तीन बजेदेखि जारी ३ महिने जीवन बिज्ञान योग साधनाको एक दृष्य थियो त्यो ।  तर यो कार्यक्रम निरन्तर चलिरहने हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्र सुवेदीले बताए ।

शुक्रबारको योग साधना कार्यक्रम अन्य दिनभन्दा पृथक थियो । सधैं पचासजना जति सहभागी हुने भएपनि शुक्रबार धेरै महिलासहित सयजना जतिको उपस्थिति थियो । त्यतिमात्र होइन, योग साधनापछि गरिएको औपचारिक कार्यक्रममा  शुक्रबार केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्की, उपाध्यक्ष शान्तिकुमारी लिम्बु (भुजेल), केराबारी ९ का उपाध्यक्ष भुपतिन्द्र प्रताप मल्ल लगायत वडा सदस्यहरु, संघ संस्थाका प्रतिनिधिहरु र सञ्चारकर्मीहरुको पनि उपस्थिति थियो । 

जीवन बिज्ञान योग साधनालाइ प्रोत्साहन तथा प्रबर्द्धन गर्ने उद्देश्यले गरिएको विशेष कार्यक्रममा उपस्थित केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्ल र केराबारी गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बुले योग साधनामा एकाबिहानै उठेर जीवनमै पहिलोपटक सहभागी भएको अनुभव सुनाउँदै थिए । केराबारीमा आत्महत्याका घटना बढ्दै गएको र दुई दिनमा मात्रै चारजना युवाले आत्महत्या गरेको सुनाउँदै उपाध्यक्ष लिम्बूले मोबाइलमा मात्रै रमाउने संस्कारले डिप्रेसन र रोग बढ्दै गएको बताइन् । उनले गाउँपालिकाले पनि योग साधना संचालनको योजना ल्याउने बताइन् ।

केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले योग बिज्ञान उत्तम कर्म भएको बताउँदै त्यसको इच्छाशक्ति लागि आवश्यक पर्ने बताए । उनले गाउँपालिकाले भौतिक बिकास मात्र नभई प्रत्येक वडा र टोलमा योग साधना र जीवन बिज्ञान संचालन गर्ने योजना रहेको सुनाए । टोल टोलमा जेष्ठ नागरिकहरुको जमघट र प्रत्येक विद्यालयमा विद्यार्थीको लागि कसरत र खेल जस्ता खेलाउने योजना पनि उनले सुनाए । 

योग प्रशिक्षक खगेन्द्र न्यौपानेले जीवनमा नाम कमाउने प्रतिस्पर्धा बन्द गरी सेवामा प्रतिस्पर्धा गर्न र अरुको कुरा काट्ने बानी छाडेर सद्भाव बढाउन आग्रह गरे । 

हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्र सुवेदीले देवीझोडामा जारी योग साधना तथा जीवन बिज्ञान कार्यक्रम सहकारीको कार्ययोजनामै समाबेश भएकोले सहकारीले आफैं बजेट ब्यबस्थापन गर्ने र योग प्रशिक्षकका लागि काठमाडौं पठाउनु परेमा त्यसको ब्यबस्थापन समेत गर्ने बताए ।

योग साधनामा सहभागी मन्जु बिष्टले बिहान योगा गर्दा घुँडा दुख्ने समस्या नै हल भएको बताइन् । त्यसैगरी स्थानीय साबित्रा खड्काले स्या स्या बढ्ने, ढाड दुख्ने र कम्मर दुख्ने जस्ता समस्या हटेको र दिनभर शरीर फुर्तिलो भएको र खुशी बढेको महसुस गरेको बताइन् । त्यस्तै वडा सदस्य समेत रहेका नरबहादुर मगरले पहिलेको फौजी जीवन सकिएपछि फेरि एक्सरसाइज गर्दा फेरि फौजी जीवनको झझल्को आएको बताए ।

सहकारीको सामाजिक तथा सामुदायिक कार्यक्रम अन्तरगत आयोजित योग साधनामा खगेन्द्र न्यौपाने र गोबिन्द कार्कीको प्रशिक्षण तथा सहजीकरण गरिरहेका छन् । योग साधनामा शारीरिक कसरत त छँदैछ, आध्यात्मिक भजन किर्तनसँगै नाचगान र ध्यान पनि चल्ने गरेको छ । योग साधना तथा जीवन बिज्ञान केही बर्षदेखि  बेलबारीको बौद्ध गुम्बा तथा लालभित्तिको कबिर मन्दिरमा पनि चल्दै आएको छ ।