बेलबारी नगरपालिकाकी उपमेयरको पहलमा भिख माग्दै सडकमै बाँचेका वृद्धको उद्वार

  • १५ चैत्र २०७६, शनिबार

लामो समयदेखि बेलबारी ११ को लक्ष्मीमार्गमा भिख मागेर जीवन गुजार्दै आएका र सडकपेटी अनि धर्मशालातिर बस्दै आइरहेका एक वृद्धलाई बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको अगुवाईमा उद्वार गरिएको छ ।

बिहीबार स्थानीय बासिन्दाको समेत पहलमा ती वृद्धको उद्वार गरिएको हो । सत्तरी बर्ष नाघेका जस्ता देखिने वृद्धको नाम खुलेको छैन । स्थानीय बासिन्दाका अनुसार ती वृद्ध बिगत ५० बर्षदेखि लक्ष्मीमार्गमा बस्दै आएका थिए ।

उपमेयर पराजुलीको नेतृत्वमा कोरोनाको महामारी विरुद्ध अभियानका क्रममा मास्क लगाएर गएको एक टोलीले लक्ष्मीमार्गस्थित एक फलैँचामा बसिरहेका वृद्धको उद्वार गरेको हो । ती वृद्धलाई मानवसेवा आश्रम विराटनगरमा पुर्याएर राखिएको छ ।

उनलाई कोरोना परिक्षण तथा उपचारका लागि बेलबारीबासीलाइ निशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेको बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाको एम्बुलेन्सले बिराटनगर पुर्याएको छ ।

उपमेयर पराजुलीले लकडाउन भएर सबैलाई घर बस्न आग्रह गरिरहँदा रोगको जोखिम पनि घट्ने र उद्वार पनि हुने भएकोले स्थानीयबासिन्दाको सहयोगमा घर नै नभएका वृद्धको उद्वार गरिएको बताइन् ।