बेलबारीमा कोरोनाको जाँच शुरु, बाह्य देशबाट आएका १ सय ४ मध्ये १६ जनाको आरडीटी परिक्षण
- २ बैशाख २०७७, मंगलवार
मोरङको बेलबारी नगरपालिकाले २०७७ बैशाख १ गतेदेखि कोरोना भाइरसको परिक्षण सुरु गरेको छ । दशैभरी स्वास्थ्य सामग्री अभाव भइरहेका बेला बेलबारीले र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधि (RDT) प्रयोग गरेर कोरोना भाइरसको उपचार गर्न थालेको हो ।
परिक्षणका लागि चाहिने आवश्यक केहि स्वास्थ्य सामग्रीहरु नगरपालिकाले खरिद गरेको छ भने केहि सामग्री दाताहरुको सहयोगवाट प्राप्त भएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । नेपाल भन्दा बाह्य देशबाट आएका ब्यक्ति तथा शंकास्पद ब्यक्तिहरुको परिक्षण गरीने मेयर सुवेदीले बताए ।
बेलबारीमा पहिलो चरणमा १६ जनाको परिक्षण भएको छ । परिक्षणमा सवैको नेगेटिभ भेटीएको छ । नगरपालिकाले विभिन्न देशबाट आएका १६ जना को परिक्षण गरेको थियो । बाह्य देशबाट आएकाहरुको परिक्षण गरीएको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार निगरानीमा राखिएका शङ्कास्पद व्यक्तिहरुको परिक्षण गरीएको थियो ।
पहिलो चरणमा विभिन्न देशवाट आएका ९८ जनाको परिक्षण गरीने छ। बाह्रय देशबाट आएका १ सय ४ जना शङ्कास्पद व्यक्तिहरु मध्ये ६ जनाको यसअघि नै परिक्षण गरीएको र उनीहरुको समेत रिपोर्ट नेगेटिभ आएको छ ।
र्यापिड डाइग्नोष्टिक टेस्ट प्रविधि (RDT) पद्धती वाट १५ मिनेटमा नै नतिजा आउने नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।
यसैगरी राष्ट्रिय युवासघ नेपाल मोरङले स्याम्पल कलेक्सन बुथ प्रदान गरेको छ । नेपाल इन्जिनियरस एसोसिएसन इटहरी च्यापटरको प्राविधिक सहयोगमा उक्त बुथ प्रदान गरीएको युवासंघ मोरङका संयोजक नवीन पौडेलले बताए ।