मोरङमा २७ वटा क्वारेन्टाइन संचालनमा, एकैपटक ७ सयभन्दा बढीलाई राख्न सकिने
- १६ जेष्ठ २०७७, शुक्रबार
कोरोना भाइरसको बढिरहेका बेला मोरङमा १८ वटा नयाँ क्वारेन्टाइन थप गरेर जम्मा २७ वटा क्वारेन्टाइन सञ्चालनमा ल्याइएको छ ।
अन्य मुलुक र बाहिरी जिल्लाबाट आएका तथा कोरोनाका शंकास्पद ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न क्वारेन्टाइन थप गरिएको हो । पछिल्लो समय १८ वटा नयाँ क्वारेन्टाइन थप गरिएका र पुराना नौ सहित मोरङमा क्वारेन्टाइन संख्या २७ पुगेको छ । सबै क्वारेन्टाइनमा गरेर करिव सात सय जनालाई राख्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
भारत लगायत अरु मुलुक र नेपालका विभिन्न जिल्लाबाट भित्रिएकालाई नयाँ क्वारेन्टाइन बनाएर राख्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । भारतले आन्तरिक रुपमा सवारी साधन र रेल सञ्चालन गरेसँगै धमाधम नेपाल भित्रनेहरुको संख्या बढेको छ । प्रदेश १ को कोभिड–१९ अस्पतालका व्यवस्थापक समेत रहेका बस्नेतले संक्रमितको सम्पर्कमा रहेका एवं उच्च जोखिम भएको तथा बाहिरी मुलुक र जिल्लाबाट यात्रा गरेर आएकालाई १४ दिन क्वारेन्टाइनमा राख्ने गरिएको बताए ।
यसअघि विराटनगरको घिनाघाट प्राथमिक स्वास्थ्य केन्द्र, जहदाको दुर्गा माध्यमिक विद्यालय, केराबारीको प्राथमिक स्वास्थ्य केन्द्र, धनपालथानको स्वास्थ्य चौकी कर्सिया, सुनवर्षीको प्राथमिक स्वास्थ्य केन्द्र अमरदह, रंगेली अस्पताल, बूढीगंगाको मधुग्राम विद्यालय र केराबारीको कालीशक्ति गणमा क्वारेन्टाइन सञ्चालन गरिएका थिए ।
थप गरिएका क्वारेन्टाइनहरुमा जनता क्याम्पस रंगेली, सार्वजनिक मावि जहदा, प्राथमिक स्वास्थ्य केन्द्र कानेपोखरी, नायारण मावि बूढीगंगा र रतुवामाईको आजेजिया मदर्शा, सिजुवा मावि, सौंठा मावि, स्लामिया महरुल मदर्शा, डोरिया आधारभूत विद्यालय, जनता मावि, शारदा मावि, बाबुल उलुम मदर्शा, उमरफारुक मस्जिद छन् । त्यस्तै राधिका मावि उर्लाबारी, पथरीशनिश्चरे बहुमुखी क्याम्पस, जनसेवा मावि कानेपोखरी, स्लामिक मदर्शा सुनवर्षी, आदर्श मावि डाइनियामा पनि नयाँ क्वारेन्टाइन बनाइएको छ ।
मोरङमा हालसम्म क्वारेन्टाइनमा बस्नेको संख्या पाँच सय ४५ छ । पहिल्यैदेखि सञ्चालन गरिएका र नयाँ बनाइएका क्वारेन्टाइनमा सोमबारसम्ममा दुई सय ७६ पुरुष र २९ महिला गरेर तीन सय पाँच जना छन् । यस अघि क्वारेन्टाइनमा बसेका मध्ये कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि दुई सय नौ पुरुष र ३१ महिला गरेर दुई सय ४० जना घर फर्किसकेका छन् ।
बाहिरबाट आएकालाई ‘होल्डिङ एरिया’मा राखेर प्राथमिक स्वास्थ्य परीक्षण गर्दै थप दुई साताका लागि क्वारेन्टाइनमा बस्न पठाउने गरिएको बस्नेतले बताए । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बाहिरबाट आएकालाई ‘होल्डिङ एरिया’सम्म लैजान सुरक्षाकर्मीले मद्धत गरिरहेको बताए । प्रहरीका अनुसार एक साताकोअवधिमा भारतबाट एक सयको हाराहारीमा मोरङ भित्रिएका छन् । बाहिरी मुलुकबाट आएका तर क्वारेन्टाइनमा बस्न नमानेका ९५ जनालाई हालसम्म प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको जानकारी एसपी अधिकारीले बताए ।
त्यसो त सुन्दरहरैंचा नगरपालिकाले एक हजार क्षमताको नयाँ क्वारेन्टाइन संचालन गर्ने तयारी थालेको छ ।
प्रदेश १ सरकारले नेपाली सेनासँग समन्वय गरेर टाँडीमा सञ्चालन गरेको दुई सय क्षमताको क्वारेन्टाइन अहिले सुन्दरहरैंचाको पूर्वाञ्चल विश्व विद्यालयमा सारिएको छ ।