किन र कसरी भयो केराबारी गाउँपालिकाका अध्यक्षमाथि आक्रमण ?

  • २ श्रावण २०७७, शुक्रबार

केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि कार्यालयमै चक्कु प्रहार भएको छ ।

दिउँसो अन्दाजी पौने १२ बजेतिर केराबारी वडा नम्बर १० का भाले भनिने भवन ठकुरीले उनीमाथि हतियार प्रहार गरेका थिए ।अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको छ । पटके सवारी कर म्याद थप गर्ने बिषयमा विवाद भएको थियो । सोही निहुँमा चक्कु प्रहार भएको बताइएको छ ।

गाँउपालिका उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेलको कार्यकक्षमा छलफल गरिरहेको अवस्थामा उनीमाथी आक्रमण भएको हो । शुक्रबार बिहान ११ बजेतिर केराबारी–१० मा रहेको गाउँपालिका कार्यालयमा पुगेका कार्की उपाध्यक्ष भुजेलको भूइँ तलामा रहेको कार्यकक्षमा ठकुरीले आक्रमण गरेका थिए । अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ऋषिराज ढकालले बताए ।

लकडाउनको कारण ठकुरी आफूले लिएको पटके सवारी ठेक्काको म्याद थप गर्न अध्यक्ष कार्कीलाई दवाब थिए । तर कार्यपालिकाले म्याद नथप्ने निर्णय गरेपछि ठकुरी आक्रोशित भएका थिए ।

यसरी भयो आक्रमण
घटनाको प्रत्यक्षदर्शी समेत रहेकी उपाध्यक्ष भुजेलका अनुसार कार्यकक्षमा प्रवेश गरेको करिब पाँच मिनेटपछि पक्कासी अध्यक्ष माथि चक्कु प्रहार भएको थियो ।
ठकुरीले पेटमा चक्कु प्रहार गर्दा कार्कीले छेकेका थिए ।

छेकेका कारण चक्कु भाँचिएकोले उनलाइ ठूलो चोट लाग्न नपाए पनि पेटमा चोट लागेको छ । होहल्ला भएपछि सुरक्षा गार्ड र कर्मचारी कार्यकक्षमा छुट्याउन पुगेका थिए । तर ठकुरीले सुरक्षा गार्डको खुकुरी खोसेर कार्कीको टाउकोमा प्रहार गरेको उपाध्यक्ष भुजेलले बताइन् । आक्रमणबाट सुरक्षा गार्ड समेत घाइते भएका छन् ।
टाउकोको दुई ठाउँमा खुकुरीले काटेको चोट छ । ‘हामी दुई जना छलफल गरेर बसिरहेका बेला सुुरुमा चक्कु निकालेर हाने । अध्यक्षले छलिन सकेको र चक्कु पनि भाँचिएका कारण ठूलो चोट लाग्न पाएन,’ उनले भनिन्, ‘घटना थाहा पाएपछि कर्मचारी, सुरक्षा गार्ड र वरपर जम्मा भएकाहरु आएर छुट्याउन थाले । त्यही बेला सुरक्षा गार्डले भिरेको खुकुरी खोसेर टाउकोमा हान्न भ्याएछ ।’
पटके करको विषयलाई लिएर भएको विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको खुकुरी र भाँचिएको चक्कुुसहित नियन्त्रणमा लिएर प्रहरीले ठकुरीलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ ।
पटके कर संकलनका लागि ठकुरीले २०७६/०७७ को असार मसान्तसम्म गाउँपालिकाको ठेक्का लिएका थिए । ठेक्का सम्झौता सकिएसँगै साउन १ देखि गाउँपालिका आफैले कर्मचारी खटाएर कर उठाउन थालेपछि सुरु भएको विवादका विषयलाई लिएर कार्कीमाथि आक्रमण भएको पाइएको प्रहरीको भनाइ छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार गाउँपालिका अध्यक्ष कार्कीमाथि आक्रमण गर्ने योजना बनाएरै ठकुरी घरबाट तरकारी काट्ने चक्कु बोकेर आएको खुलेको छ । अध्यक्ष कार्कीको टाउको, हात र पेटमा चोट लागेको जानकारी उनले दिए । उपचारका लागि नोबेल शिक्षण अस्तपाल विराटनगर लगिएका घाइतेको स्वास्थ्य अवस्था बुझ्न मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का आफै अस्पताल पुगेका थिए । उनको अबस्था खतरामुक्त छ ।

केराबारी गाउँपालिकाका ८ का वडाध्यक्ष मनोज खड्काले पनि अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको र नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेकोे बताए । अध्यक्ष कार्कीलाई आफुले अस्पतालमा भेट्न नपाएपनि खतरामुक्त अबस्थामा उपचार भइरहेको जानकारी पाएको उनले बताए ।