लागु औषध कारोबारी पनि रैछ कि क्याहो ! गाउँपालिका अध्यक्षलाई खुकुरी हान्ने मान्छे
- ५ श्रावण २०७७, सोमबार
केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि हतियारसहित आक्रमण गर्ने भवन ठकुरी (भाले) को घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ ।
केराबारी गाउँपालिका १० स्थित ठकुरीको घरमा ओछ्यान मुनी प्रहरीले तीन ग्राम ब्राउन सुगरसहित अन्य लागूऔषधहरू पनि बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
ठकुरीले गत शुक्रबार दिउँसो गाउँपालिका कार्यालयमै अध्यक्ष कार्कीलाई चक्कु तथा खुकुरी प्रहार गरेका थिए । घटना लगत्तै पक्राउ परेका ठकुरीको घरमा प्रहरीले खानतलासी गरेको थियो ।
ठकुरी लागूऔषध प्रयोगकर्ता पनि रहेको पाइएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरबाट विभिन्न प्रकारको लागूऔषध पनि बरामद भएकोले ठकुरी लागुऔषध कारोबारी समेत हुनसक्ने प्रहरीको भनाई छ ।
पक्राउ परेका ठकुरीलाई प्रहरीले जिल्ला अदालत मोरङमा ‘ज्यान मार्ने उद्योग र लागूऔषध मुद्दा’ मा म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए । प्रहरीले ठकुरीलाई अदालतबाट आइतबार ५ दिनको म्याद थप गरेको छ ।