नेकपा धनकुटाको अपील : उता गएर काम छैन, थपक्क यतै फर्कनोस्

ईश्वर थापा

  • २० फाल्गुन २०७७, बिहीबार

‍प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा धनकुटाले कम्युनिष्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आब्हान गरेको छ ।

जिल्ला कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न अध्यक्ष दुर्गा लिंखा र सचिब ऋषिराम ढुंगानाले जारी गरेको विज्ञप्तीमा सो आब्हान गरिएको हो ।

विज्ञप्तीमा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष भएको पार्टी नै आधिकारीक र मुल पार्टी भएको दाबी गर्दै सबै नेता कार्यकर्तालाई मुल पार्टीमा फर्कन आग्रह गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ ‘वर्तमान विशिष्ट राजनैतिक संकटग्रस्त परिस्थितिमा विभिन्न त्रास, आश्वासन, अन्यौल, भ्रम वाध्यता वा अन्य कुनै कारणले पार्टीको मुल प्रवाहमा आवद्ध हुनबाट वञ्चित हुँदै तटस्थ र अन्यौलमा पर्नु भएका एवं विखण्डनकारी गुटमा रहन बाध्य हुनुभएका इमान्दार कार्यकर्ता, पार्टी सदस्यहरु तथा पार्टी पक्षधर जनप्रतिनिधीहरुलाई सबैखाले अन्यौलता चिर्दै पार्टीको मुल पूवाह मै समाहित हुन हार्दिक अपिल तथा आग्रह गर्दछौ।’

जिल्ला कमिटी बैठकले धनकुटाका सातबटै पालिका कमिटीमा अध्यक्ष सचिबहरुको जिम्मेवारी तोक्नुको साथै नेकपाको पुनर्गठन र पार्टी एकताका बाँकी रहेका सबै कामहरु १५ दिनभित्र सम्पन्न गर्दै वैचारिक, राजनैतिक र संगठनात्मक आगामी अभियानात्मक कार्ययोजनाहरु समेत पारित गरेको जनाइएको छ ।