तीन- चार प्रतिशत ब्याजदरमै सुन्दरहरैंचाका युवाले पाउने भए ऋण

  • २९ फाल्गुन २०७७, शनिबार

विदेशबाट फर्किएका, दलित तथा  स्वरोजगार बन्न चाहने युवा र उद्यमी बन्न चाहने महिलाका लागि सुन्दरहरैंचा नगरपालिकाले नेपाल बंगलादेश बैंकसँँको सहकार्यमा ४ प्रतिशत ब्याजदरमा ऋण दिलाउने भएको छ ।

नगरप्रमुख शिवप्रसाद ढकालको कार्यकक्षमा नगरपालिकाको तर्फबाट नगरप्रमुख ढकाल र बैंकको तर्फबाट प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उद्यम अर्थात ब्यबशायका लागि हाल शिक्षित युवा स्वरोजगार शीर्षकमा अधिकतम ७ लाख रुपैयाँसम्म ऋण प्रदान गर्ने ब्यबस्था गरिएको छ । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटो लगायत अन्य सिफारिश नगरपालिकाले नै गरिदिनेछ ।

ऋण पाउनका लागि निवेदकले वडामा निवेदन दिनुपर्नेछ । वडाले नगरपालिकालाई सिफारिश गरेपछि त्यसकै आधारमा नगरले बैंकसँग ऋणका लागि सिफारिश गर्नेछ ।
नेपाल बंगलादेश बैंकको विराटचोक शाखाका प्रमुख सुजन तिम्सिनाले अडिट रिपोर्ट, प्रोजेक्ट रिपोर्टलगायतका अन्य कागजपत्र नचाहिने, प्रक्रिया पूरा गर्न सहज हुने र कम ब्याजदर भएकाले यो कर्जाबाट धेरै जना उद्यमी, व्यवसायी वा स्वरोजगार बन्न सक्ने बताए ।

पुरुषका लागि अधिकतम ४ प्रतिशत र महिलाका लागि अधिकतम ३ प्रतिशत ब्याजदरमा ऋण दिइनेछ ।

भाका पुगेको अबधिमा ऋण उठ्न नसकेमा नगरपालिकाले कर्जा उठाउन पहल गर्ने र राज्यले दिने सबै सेवा र सुविधाबाट वञ्चित पनि गर्न सक्ने गरी सम्झौता भएको नगरप्रमुख शिवप्रसाद ढकालले बताए ।
हस्ताक्षर भएको २ वर्षसम्म सम्झौता कायम रहने तर कर्जा बहाल रहेसम्म नगरले दायित्व बहन गर्ने नगरपालिकाले जनाएको छ ।