केराबारीस्थित खदम खोलामा बन्न थाल्यो मोटरेबल पक्की पुल
- १७ चैत्र २०७७, मंगलवार
राष्ट्रिय गौरवको आयोजना भनिएको मदन भण्डारी राजमार्ग अन्तरगत मोरङको केराबारीस्थित खदम खोलामा बन्ने मोटरेबल पक्की पुल निर्माणको काम शुरु भएको छ ।
राजमार्ग र पुल कहाँनेर बनाउने भन्ने लामो समयदेखिको बिवाद छिनोफानो भएसँगै केराबारी बजारको सिधै पश्चिमपट्टि पुल निर्माणको काम शुरु भएको हो ।
केराबारी बजारको ठिक पश्चिमपट्टी बन्ने पुल ४ सय मिटर लामो हुनेछ । साढे सात मिटर चौडाइको पुलमा र दुवैतिर मानिस हिड्ने फुटपाथ समेत रहनेछ । पुल निर्माणको ठेक्का शर्मा एण्ड कम्पनी प्रा.लि. ले पाएको छ । भ्याटसहित ६४ करोडमा सो कम्पनीले ठेक्का पाएको हो ।
मदन भण्डारी राजमार्ग अन्तरगत धरानदेखि पश्चिमतर्फ धेरै पुलहरु बनिसकेका छन् । त्यस बाहेक चिसाङ, मावा लगायतका खोलामा पनि पुल निर्माण भइसकेको छ । मदन भण्डारी राजमार्गमा अब ३२ वटा पुल बन्न बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि खदम खोला सहित मदन भण्डारी राजमार्गका ३२ ओटा पुलको दमकबाट एकैसाथ शिलान्यास गरेका थिए।
पुल निर्माणपछि उत्तरी मोरङका साथै केराबारी बजार र डाँगी, मुगु, याङ्गशिलाका साथै धरान आवतजावत गर्न समेत सहज हुनेछ ।