कालोपत्रे भो मोरङकै सबैभन्दा पुरानो कानेपोखरी– रंगेली हुलाकी राजमार्ग
हरिप्रसाद कोइराला
- १९ चैत्र २०७७, बिहीबार
सडक पटक पटक ठेक्का लागेर पनि पिच हुन नसकेको पूर्व पश्चिम राजमार्गदेखि –रङ्गेली – आमबारी हुँदै विराटनगरलाइ जोड्ने मोरङकै सबैभन्दा पुरानो कानेपोखरी– रंगेली हुलाकी राजमार्ग निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ ।
सडक निर्माण कम्पनीले कानेपोखरी– रंगेली हुलाकी राजमार्ग समुदायलाई हस्तान्तरण गरेको छ । कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले कालोपत्रे सडक उद्घाटन गरेका छन् । सडक उद्घाटन गर्दै काफ्लेले यो राजमार्ग बनेपछि स्थानीय उपभोक्ताको दैनिकी नै परिवर्तन भएको बताए ।
सडक भारतीय सरकारको ७० करोड २४ लाख ३१ हजार ६७९ रुपियाँ सहयोगमा बनेको हो । निर्माण कम्पनी कन्चनजङ्घा निर्माण सेवाका सञ्चालक टेण्डी शेर्पाले ९९ प्रतिशत काम सम्पन्न भएको बताए । केही स्थानमा ड्रेनमाथि स्ल्याब राख्ने र माइल स्तम्भ राख्ने बाहेक सबै काम सकिएको शेर्पाले बताए ।
२५ दशमलव ४० किमी लम्बाईको यस सडकलाई जिल्लाको पहिलो हुलाकी सडक नाम दिइएको छ ।
पञ्चायत कालदेखि नै कालोपत्रे हुने सूचीमा पर्दै आएको कानेपोखरी–रङ्गेली सडक पटक पटक ठेक्का लागेर पनि निर्माण कम्पनी आधा काम गर्दै भाग्न थालेपछि स्थानीय उपभोक्ताले सडक फराकिलो र कालोपत्रे हुने कुरा पत्याएका थिएनन् । पछिल्लो पटक २०११ को मार्चमा २०१३ को अगस्टमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने गरी सम्झौता गरेको भारतीय निर्माण कम्पनी जिभिआर इन्फ्राप्रोजेक्ट लि. चेन्नइले जीभिआरसँग निर्माण सम्झौता भएको थियो । तर १८ महिनापछि त्यो कम्पनी काम छोडेर भागेपछि कानेपोखरी – रङ्गेली क्षेत्रका वासिन्दाको कालोपत्रे सडकको सपना अधुरो बनेको थियो ।
भारतीय कम्पनी काम छोडेर भागेको चार वर्षपछि २०७४ असार ६ गते हाल निर्माण सम्पन्न गरेको नेपाली निर्माण कम्पनी लामा, डाँफे ,द कन्चनजंघा कन्ट्रक्सन प्रालिले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । यस कम्पनीले पनि २०७६ को असार ५ गते यो सडक कालोपत्रे गरेर हुलाकी सडक आयोजनालाई जिम्मा लगाउने सम्झौता भएको थियो । तर, निर्माण सामग्री आपूर्ति गर्न र त्यसपछि कोभिडका कारण काम गर्न ढिलाइ भएपछि तोकिएको समय भन्दा २१ महिनापछि सडक हस्तान्तरण गरेको हो । – गोर्खापत्र