धनकुटामा पनि बन्यो एमालेको समानान्तर कमिटी, १ सय १ सदस्यीय समिति घोषणा

  • २१ चैत्र २०७७, शनिबार

एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल नेतृत्वको एमालेले धनकुटामा समानान्तर कमिटी गठन गरेको छ ।

शनिबार धनकुटामा भएको भेलाले अर्जुन राईको अध्यक्षतामा १ सय १ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो। नव गठित कमिटीको सचिवमा खगेन्द्र सुवेदी छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका प्रदेश कमिटी सदस्य धर्मराज पौडेलले सबै नेता कार्यकर्ताहरूलाई एकता विरोधी र विधान विपरीत कार्य नगर्न र एकताबद्ध कम्युनिष्ट पार्टीको निम्ति लागिरहन आग्रह गरे।

भेलाले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी ओलीले विधान विपरीत केन्द्रीय पदाधिकारी र केन्द्रीय कमिटी विगठन गर्दै गरेका कार्यहरुप्रति घोर निन्दा र आपत्ति जनाएको छ।

भेलाले नेकपा एमालेको विधि, नीति, विचार बमोजिम पार्टीलाई अगाडि बढाउन प्रयत्नरत नेताहरूलाई कारबाही गरिएको भनी प्रचारित गतिविधिलाई अस्विकार गर्ने निर्णय गरेको अध्यक्ष राईले बताए।

सर्वोच्च अदालतले पुरानो पार्टी व्युताउने निर्णय कानुन राजनीतिक कोणबाट समेत अप्राकृतिक रहेको ठहर गर्दै भेलाले बृहत वाम एकता गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने आजको आवश्यकता रहेको ठहर गरेको राइले बताए।

भेलाले सबै नेता कार्यकर्तालाई कम्युनिष्ट एकताको पक्षमा लाग्न आब्हान गरेको छ।

नेपाल – झलनाथ नेतृत्वको एमालेले यस अघि कास्की, गोरखा लगायत गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ ।