‍नविन कोईरालाले जिते दोस्रो बेलबारी आईडलको उपाधि, तेस्रो आइडलको तयारी

  • २९ चैत्र २०७७, आईतवार

मोरङ बेलबारी ३ का नबिन कोईरालाले दोस्रो बेलबारी आईडलको उपाधि जितेका छन् ।

कोरोना महामारीका कारण गत बर्ष रोकिएर शनिबार भएको फाइनलमा पाँच प्रतिस्पर्धीहरुलाइ उछिन्दै कोइरालाले उपाधी जितेका  हुन् । उपाधिसँगै उनले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

शनिबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित फाईनल प्रतियोगितामा ६ जना फाईनालिष्ट मध्ये कोईराला उपाधि जित्न सफल भए ।

प्रतियोेगितामा बेलबारी ११ का रितेष तिम्सिना दोस्रो र बेलबारी ११ का रबिसन खत्री तेस्रो भएका छन् । उनीहरूले क्रमश: नगद १५ हजार र १० हजार, ट्रफी र प्रमाणपत्र हात पारेका  छन् ।

बिजेताहरुलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी लगायतले पुरस्कार बितरण गरे ।

फाइनलमा पुगेका मध्ये शर्मिला दाहाल (रेग्मी), सुनिल चौधरी र रालेन राइले फाइनलिष्टको प्रमाणपत्र पाए । कार्यक्रममा ६ जना फाईनालिष्टहरुले पहिलो चरणमा लोकभाकाका गीतहरु र दोस्रो चरणमा आफनो रोजाईका गीतहरु गाएका थिए ।

तेस्रो बेलबारी आईडल प्रतियोगिता पनि चाँडै शुरु गरिने आयोजक स्रष्टा समाजका सचिब तथा कार्यक्रम संयोजक जेबि थुलुंगले बताए ।

२०७६ माघ १७ गते अडिसनसहित सुरु भएको आइडल २ को छनौट चरणमा  दुई सयभन्दा बढी सहभागी भएका थिए । ती मध्ये ६१ जना छनौट चरण पार गर्दै प्रि-सेमीफाइनलमा पुगेका थिए । त्यसबाट छानिएका २१ जना सेमिफाइनलमा पुगेका थिए । त्यसबाट उत्कृष्ट १० जनालाइ ‘टप टेन’ का लागि छानिएको थियो । एक महिने प्रशिक्षणपछि फाइनलका लागि ६ जना छानिएका थिए । २०७६ चैत १ तय भएको फाइनल प्रतियोगिता कोरोना भाईरसका कारण एक बर्षपछि बल्ल भयो ।

यसअघि प्रथम बेलबारी आईडलको उपाधी बिवेश मोतेले जितेका थिए ।