धनकुटाका गाउँ गाउँमा कोरोना संक्रमित अलपत्र, कांग्रेसद्वारा आईसोलेसन माग

  • ५ जेष्ठ २०७८, बुधबार

आईसोलेसनको अभावमा धनकुटा जिल्लामा शहरदेखि गाउँ गाउँमा यतिवेला कोरोना संक्रमित विरामीहरु अव्यवस्थित ढंगले घर घरमा नै वसिरहेको भन्दै नेपाली कांग्रेस धनकुटाले ब्यबस्थित आइसोलेसन र उपचार गर्न ध्यानार्कषण गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल र सचिव विजय सन्तोषी राईले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै कोरोना संक्रमितहरुको उपचार गर्नका लागि धनकुटा जिल्लाका सवै पालिकाहरुले अक्सिजन सहितको कम्तीमा ५० बेड भएको व्यवस्थित आईशोलेसन सेन्टर अभिलम्ब स्थापना गर्न माग गरेका छन् ।

धनकुटाको सागुरीगढी ,चौविसे, छथरजोरपाटी, पाख्रिवास, महालक्ष्मी नगरपालिका लगायत सवै पालिकाहरुमा आईसोलेसनको अभावमा कोरोना संक्रमणका कारण सयौ विरामीहरु घरमा नै अलपत्र परेका छन् ।
नयाँ किसिमको भिरियन्ट सहितको कोरोना भाईरस धनकुटाको समुदाय स्तरमा अहिले व्यापक रुपमा फैलिदै गएपछि जिल्लाभरीका नागरिकहरु यतिवेला ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षणहरुका कारण विरामी भैरहेको समेत धनकुटा कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पाख्रिवास नगरपालिका क्षेत्र लगायत जिल्लाभरी नै कन्ट्राक ट्रसिङ्गसर्गै समुदाय स्तरमा नै निशुल्क पिसिआर परिक्षणका लागि स्वाव संकलन कार्यलाई युद्ध स्तरमा अभियानकै रुपमा समुदाय स्तरमा संचालन गर्न कांग्रेस धनकुटाले सवै धनकुटाका स्थानीय सरकारहरुसँग माग गरेको छ ।

कोरोना भाईरस तिव्र रुपमा फैलदै गएकाले यसबाट बच्न धनकुटा जिल्लाका सवै नागरिकहरुले अव कम्तिमा तिन हप्तासम्म अत्यावश्यक काम वोहक घरबाट ननिस्किने गरी जनता लकडाउन अभियान संचालन गर्न अपिल गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताए ।
धनकुटा जिल्लामा गत बर्षदेखि हालसम्म जम्मा ५ सय ८० जना कोरोना संक्रमित भएको र १५ जनाको निधन भैसकेको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी गुरागाईले वताए ।