दमक, बेलबारी र पथरीपछि उर्लाबारीले धिमाललाई दियो पहिलो जातिको मान्यता  

  • ३ श्रावण २०७८, आईतवार

 नेपालको पूर्वी तराई क्षेत्रमा आदिम कालदेखि बसोबास गर्दै आइरहेको धिमाल समुदायलाई उर्लाबारी नगरपालिकाले पहिलो जाति घोषणा गरेको छ ।

नगरपालिकाको हालै सम्पन्न सातौँ सभाले सो  घोषणा गरेको हो । असार ३१ ग्ते बसेको सातौँ सभाले धिमाल समुदायलाई पहिलो जाति करार गरेको केन्द्रका महासचिव मातृका धिमालले जनाए । ‘नगरपालिकाको सातौँ सभाले धिमाल समुदायलाई पहिलो जाति घोषणा गरेको छ,’ उनले भने, ‘स्थानीय सरकारले यति गरेकोप्रति खुसी छौँ ।

घोषणा भएलगत्तै नगरपालिकाका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारी समेतको उपस्थितिमा धिमाल जाति विकास केन्द्रको अगुवाईमा उर्लाबारीमा दीप प्रज्ज्वलन गरिएको थियो ।

   आदिवासी धिमाल समुदायको प्राचीन कालदेखिको अस्तित्वलाई सम्मान गर्न पहिलो समुदाय भनेर घोषणा गरिएको मेयर फागोले बताए । कार्यक्रममा केन्द्रका सहअध्यक्ष कृष्ण बहादुर धिमालले नगरपालिकाको कार्यको प्रशंसा गर्दै अब समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक स्तर उकास्न स्थानीय सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए ।

मधेशका लिम्बु समुदाय भनेर चिनिने धिमाल समुदायलाई तीन वर्षअघि पहिलो पटक दमक नगरपालिकाले पहिलो नागरिक घोषणा गरेको थियो । त्यसपछि, बेलबारी र पथरी शनिश्चरे नगरपालिकाले पनि धिमाल जातिलाई पहिलो जाति घोषणा गरिसकेका छन् ।

सन् २०११ को राष्ट्रिय जनगणनाअनुसार धिमाल समुदायको जनसंख्या १९,५३७ रहेको छ । तर, धिमाल जाति विकास केन्द्रले सो तथ्यांकलाई अस्वीकार गर्दै जनसंख्या ४०,००० हाराहारीमा रहेको बताउँदै आएको छ ।