प्रदेश नं.१ मै पहिलो पटक मृगौला प्रत्यारोपण सेवा शुरु गर्दै नोबेल हस्पिटल

  • ४ श्रावण २०७८, सोमबार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको छ ।

प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण सेवा थाल्ने तयारी गरेको हो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमतिसमेत दिइसकेको छ ।

   मृगौला प्रत्यारोपण सम्बन्धि सेवाका लागि नोबेलले अनुमति माग गर्दै २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । सो विषयमा जाँचबुझपछि साउन १ गतेको निर्णय बमोजिम मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि नोबेललाई अनुमति प्रदान गरिएको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले जनाएको छ ।

मृगौला प्रत्यारोपणका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको नोबेल अस्पतालका मृगौला रोग विशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठले बताए । ‘मेनपावर, इन्फास्ट्रक्चर लगायतको व्यवस्थापन भइसकेको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिले पनि अनुमति दिइसकेकाले अब थप केही उपकरणहरुको व्यवस्थापन पछि सेवा सुरु हुन्छ,’ डा.श्रेष्ठले भने ।

       मृगौला प्रत्यारोपणका लागि डा.श्रेष्ठसँगै, यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाह लगायत दक्ष जनशक्तिको टिम नोबेलमा छ । मृगौला प्रत्यारोपण गर्न अप्रेशन कक्ष र विरामी राख्ने बेडको व्यवस्थापन पनि मिलाइसकिएको छ ।

अब, आवश्यक उपकरणहरु जर्मन र अमेरिकाबाट ल्याएर साउन अन्तिम साताबाट मृगौला प्रत्यारोपण सेवा सुरु गरिने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् । सबै सामानहरु अर्डर भइसकेको छ, सामान आएपछि यही महिनाबाट पूर्वी नेपालमै पहिलो पटक नोबेलमा मृगौला प्रत्यारोपण गर्न थाल्ने शर्माले बताए ।

नोबेलले अहिले मृगौला प्रत्यारोपण बाहेक मृगौला रोग सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

अब, सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा. डा. प्रेम ज्ञवालीसहितको टिमसँगको समन्वयमा मृगौला प्रत्यारोपण सुरु गरिनेछ । मुख्यगरी दुबै मृगौला ‘फेल’ भएका व्यक्तिलाई अर्को व्यक्तिको मृगौला प्रत्यारोपण गरेर ज्यान बचाउने गरिन्छ ।

यो सेवा अहिले काठमाडौंमा मात्र उपलब्ध छ । नोबेलले मृगौला प्रत्यारोपण सेवा थालेपछि पूर्वी नेपालसहित अन्य क्षेत्रका विरामीलाई पनि धेरै सहज हुँने नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नोबेलले स्तरीय उपचार सेवा विस्तारमा तीब्रता दिइरहेको छ ।