टाउकोमा फेटासहित सेतो पहिरनमा आमाको काज किरिया गर्दै स्मृति
- ३१ श्रावण २०७८, आईतवार
मोरङ सुन्दरहरैंचा ८ सलकपुर बस्दै आएकी छत्रकुमारी दाहालको मृत्यु भएपछि उनकी कान्छी छोरी स्मृति दाहाल हिन्दु धार्मिक परम्परा अनुसार आमाको क्रियापुत्री बसेकी छिन् ।
पाँच दिदिबहिनी मध्ये परिवारमा कान्छी छोरी स्मृतिले पढाइमा डिग्री गरेकी छिन् । २०४६ सालमा जन्मेकी स्मृतिको स्थायी ठेगाना झापाको भद्रपुर १० चन्द्रगढी हो । स्मृतिको परिवारमा आफ्ना दाजुभाइ नभएपछि उनी आमाको काजकिरियामा बसेकी हुन् ।
स्मृतिको आमाको उपचारका क्रममा मोरङको सुन्दरहरैंचामा केही महिनादेखि परिवार डेरा गरी बस्दै आएको छ । लामो समयदेखि सुगर तथा पेसर भएर थाला परेकी ६३ बर्षिय स्मृतिकी आमा छत्रकुमारीको उपचारमा धेरै कोसिस गरे पनि बचाउन नसकिएको छत्रकुमारीका देवर सूर्यप्रसाद दाहालले बताए । भाउजूको काम गर्ने अरु आफ्न्त तथा नाताका दाजुभाइ भएपनि छोरी स्मृतिले आफ्नी आमाको काम आफैले गर्ने इच्छा राखेपछि उनीलाई नै १३ दिनको कामका लागि अघि सारिएको सूर्यप्रसादले बताए ।
क्रियापुत्रीको रुपमा छोराहरू बस्ने चलन भए पनि स्मृतिले टाउकोमा सेतो फेटा बाँधी आमाको किरिया गरेर समाजमा उदाहरणीय काम गरेको सुन्दरहरैंचा नगरपालिका ८ का वडा सदस्य विण्णुप्रसाद आचार्यले बताए ।