प्रदेश १ मा पनि बढ्यो सार्वजनिक सवारीको भाडा
- ३ भाद्र २०७८, बिहीबार
संघीय सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको करिब एक महिनापछि प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ ।
प्रदेश-१को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो । यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५ प्रतिशत बढाएको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा भने २३ प्रतिशत बढाइएको छ ।
संघीय सरकारले गत असार २९ गतेबाट लागू हुने गरी लामो दूरीमा चल्ने (अन्तरप्रदेश) सवारीको २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने प्रदेश १ सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाले संघीय सरकारले वैज्ञानक रुपमा बढाएको भाडादर अनुसार नै प्रदेश र स्थानीय तहले पनि भाडा समायोजन गर्नुपर्ने माग गरेका छन् ।