‘बोयर’ खरिद काण्डको छानविन सकियो, बेलबारी नगरपालिकालाई बुझाइयो प्रतिवेदन

  • ७ भाद्र २०७८, सोमबार

बेलबारी नगरपालिकाले कृषकलाई अनुदानमा दिन खरिद गरिएका बोयर बोका बाख्रा खरिद काण्डको विषयमा छानविन गर्न गठित समितिले बेलबारी नगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।

बेलबारी नगरपालिकाले गठन गरेको बेलबारी बोयर बाख्रा छानबिन समितिले २ महिनापछि आईतबार साँझ नगरपालिकालाई प्रतिबेदन बुझाएको हो । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीलाई छानबिन समिति संयोजक बिन्दुकला गुरुङ, समितिका सदस्य एवम् प्रवक्ता राजेन्द्र अधिकारी, सदस्यहरु किशोर भण्डारी र केशव थापा मगरले प्रतिवेदन बुझाएका थिए । समितिले तयार पारेको प्रतिवेदन लाहाछाप सिलबन्दी सहित बुझाइएको छ ।

अष्ट्रेयलियाबाटै ल्याएर शतप्रतिशत शुद्ध बोयर बोकापाठी बेलबारीका किसानलाई वितरण गर्ने भनिएपनि गुणस्तर र मापदण्ड अनुसार नभइ लोकल जस्ता बोका बाख्रा बितरण भएपछि चर्को आलोचना भएको थियो । १ करोड २४ लाख रुपैयाँको बजेटमा खरिद गरिएका भनिएका बोकापाठी वितरण गर्ने कार्यक्रम अनुसार जेष्ठ १५ गते ‘बोयर| वितरण गरिएको थियो ।

वितरण गरिएका ‘बोयर’ बोकापाठीका विषयमा तिब्र विरोध भएपछि नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । गत असार ५ गतेबाट कार्य प्रारम्भ गरेको समितिमा नेपाली कांग्रेसका राजेन्द्र अधिकारी,माओवादी केन्द्रका किशोर भण्डारी र जनता समाजवादी पार्टीका केशव थापामगर सदस्य थिए ।

दुई महिना लगाएर तयार पारिएको सो प्रतिवेदन १ सय ६० पृष्ठको छ । जसमा १५ दफा तथा ४५ अनुसुची समावेस गरिएको प्रवक्ता अधिकारीले जानकारी दिए । छानविनका क्रममा सकेसम्म यथार्थ पत्ता लगाउन कडा परिश्रम र मेहनत गरिएको अधिकारीले बताए । समिति संयोजक विन्दुकला गूरुङले पनि आफुहरुले पाएको जिम्मेवारी इमान्दार ढंगले पुरा गरेको भन्दै सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएकी छिन् ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा नेकपा माओबादी केन्द्र बेलबारी नगर अध्यक्ष पर्शुराम सुवेदी, नेपाली काँग्रेस सभापति शम्भु भट्टराई,जनता समाजवादीका कमलबहादुर गुरुङ,बेलबारी नगरपालिकाका प्रवक्त्ता योगेन्द्र सुवेदी लगायतको सहभागिता थियो ।

नगरप्रमुख सुवेदीले पनि कार्यपालिकाको बैठकमा छलफल गरी आवश्यक निर्णय गरेर चाँडै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।