धनकुटालाई सौतेलो सन्तान झैँ हेपियो भन्दै कांग्रेसद्वारा प्रधानमन्त्री समक्ष ११ बुँदे माग

  • १६ भाद्र २०७८, बुधबार

धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी वनाउनुको सट्टा उल्टै उपेक्षा गरिएका कारण विकासको गति रोकिएको र जिल्लामा शुन्यता छाउदै गएको भन्दै नेपाली कांग्रेस धनकुटाका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेर वहादुर देउवासंग भेटघाट गरी ११ बुदे माग पत्र बुझाएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापती अग्नी प्रसाद पौडेल र जिल्ला सविच विजय सन्तोषी राईले हस्ताक्षर गरेको ११ बुदे माग प्रधानमन्त्री देउवालाई बुझाइएको हो ।

प्रधानमन्त्री समक्ष बुझाइएको मागपत्रमा धनकुटा जिल्ला अस्पताल कोशी पहाडी चार जिल्लाका विरामीहरुको उपचार गर्ने केन्द्रका रुपमा रहेकाले बिशेषज्ञ स्वास्थ्य सेवासहित यस अस्पतालको स्तरोन्नति गरी तत्काल १ सय शैयाको अस्पतालमा रुपान्तरण गर्न र धनकुटामा मेडिकल कलेज स्थापना गर्न माग गरिएको छ ।

त्यसैगरी जिल्लामा दिनप्रतिदिन तीव्र रुपमा कोरोना भाईरस महामारीको नियन्त्रणका लागि धनकुटा जिल्लामा तत्काल १ लाख ७३ हजार कोरोनाविरुद्धको खोप उपलब्ध गराउन, धनकुटा नगरपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र हिले बजारमा नगरस्तरीय अस्पताल स्थापना गर्न र धनकुटा जिल्ला अस्पतालमा भेन्टिलेटरसहित १० वेडका आईसियू कक्ष स्थापना भएपनि दक्ष जनशक्तिको अभावमा थन्किएर रहेकाले संचालनका लागि जनशक्तिसहित २ जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिदिन माग गरिएको छ ।

त्यस्तै धनकुटा जिल्लाको सात पालिकाहरुको अस्पतालहरु मध्ये धनकुटा नगरपालिका र छथरजोरपाटीको अस्पतालमामात्र डाक्टर कार्यरत रहेको र बाँकी पालिकाहरुका अस्पतालहरुमा डाक्टर अभाव रहहेकाले तत्काल डाक्टरको व्यवस्था गर्न र ति पालिकाका अस्पतालहरुलाई कम्तिमा १५ वेडको अस्पतालमा स्तरोन्नती गरी साधनस्रोत सम्पन्न बनाई गुणस्तरीय स्वास्थ्य सेवाका लागी व्यवस्था गर्न पनि माग गरिएको छ ।

मागपत्रमा नेपाल नेत्रज्योती संघ धनकुटाले संचालन गरेको डा.रामप्रसाद आँखा अस्पताललाई साधन स्रोत सम्पन्न बनाई पूर्वी पहाडी जिल्लाहरुको लागि गुणस्तरीय आँखा उपचार केन्द्रका रुपमा स्थापित गर्न, धनकुटा नगरपालिकाको वडा नं. ९ को बेलहारा डाँडामा एयरपोर्ट निर्माणका लागी डीपीआर समेत भैसकेकोले तत्काल उक्त स्थानमा एयरपोर्ट निर्माण गर्न, धनकुटामा रहेको यातायात कार्यालयलाई पूर्वी पहाडी जिल्लाहरुकै काम गर्ने गरी लाईसेन्ससमेत दिनेगरी अधिकार सम्पन्न बनाउन र धनकुटामा रहेको प्रदेश नम्वर १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नम्वर १ को प्रहरी तालिम केन्द्र बनाउन कांग्रेस धनकुटाले प्रधान मन्त्री देउवा समक्ष माग गरेको छ ।

छिन्ताङ्ग काण्डमा सहदत प्राप्त गरेका र प्रजातन्त्र तथा लोकतान्त्रिक आन्दोलनका २९ जना धनकुटेली सहिदहरुका परिवारलाई तत्काल राहत उपलब्ध गराउन, सहिद परिवारलाई रोजगारको व्यवस्था गर्न र शहीद भिमनारायण श्रेष्ठको स्मृतिमा प्रत्येक वर्ष सञ्चालन हुदै आएको राष्ट्रियस्तरको फुटवल प्रतियोगिता सञ्चालन गर्न आर्थिक रुपमा समस्या भएकाले आवश्यक वजेट उपलब्ध गराई दिनका लागि समेत प्रधान मन्त्री देउवा समक्ष धनकुटा कांग्रेसले लिखित माग गरेको छ ।

धनकुटालाई कृषि ,शिक्षा ,स्वास्थ्य र पर्यटन क्षेत्रको रुपमा विकास गरी जिवन्तता दिनका लागी नेपाली कांग्रेस धनकुटाले प्रधान मन्त्री देउवा समक्ष जोडदार माग गरेको छ ।

प्रधानमन्त्री देउवालाई माग पत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापती अग्नी प्रसाद पौडेल,महासमिति सदस्यहरु अजित नारायाण सिंह थापा,आनन्द सन्तोषी राई,जिल्ला सचिव विजय सन्तोषी राई,जिल्ला सदस्यहरु निर्मल ओझा,निलम थापा,महाधिवेशन प्रधिनिधि उदय लिम्बु,यूवा नेता मदन घिमिरे,सम्पर्क समितिका सभापती भीम थापा,नेविसंघ सम्पर्क समितिका सभापती सविन पोखरेल,कर्मचारी यूनियन धनकुटाका पूर्व अध्यक्ष हरीकृष्ण राजभण्डारी,कल्पना लिम्बुनेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ लगायतका नेताहरु उपस्थित थिए ।