तीनवटा माध्यमिक विद्यालयलाई बेलबारी नगरपालिकाले दियो स्कुल वस

  • ५ आश्विन २०७८, मंगलवार

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउने उद्देश्यले बेलबारी नगरपालिकाले नगरका तीन वटा सामुदायिक विद्यालयलाई एक एकवटा बस सहयोग गरेको छ ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सोमबार एक कार्यक्रमबिच ती विद्यालयलाई बसको साँचो हस्तान्तरण गरेका हुन् ।

बस पाउने विद्यालयहरूमा बेलबारी १ को जनता मावि, बेलबारी ८ को जनता मावि र बेलबारी ९ को जनता नमुना मावि छन् ।

बस हस्तान्तरण कार्यक्रममा उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला, नगर प्रवक्ता योगेन्द्र सुवेदी, वडा नं १ का अध्यक्ष चक्रबहादुर खुलाल, लक्ष्मी माविका प्रधानाध्यापक एवम् शिक्षा समितिका सदस्य गोविन्द भण्डारी लगायतको उपस्थिति थियो ।

नगरपालिकाले हस्तान्तरण गरेका स्कुल बसले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा थप सहयोग पुग्ने आशा लिएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । अरू सामुदायिक विद्यालयहरुलाई पनि बस उपलब्ध गराउने नगरपालिकाको लक्ष रहेको उनले बताए ।

साँचो बुझ्दै विद्यालयका प्रधानाध्यापकहरूले प्राप्त बसलाई विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउने काममा लगाउने बताएका छन् । हस्तान्तरण गरिएको प्रत्येक बसलाई २७ लाख २६ हजार ७ सय ६४ रुपैया परेको नगरपालिकाले जनाएको छ ।