बाढी पहिरो र डुवानका कारण प्रदेश १ मा ६२ जनाको मृत्यु, १३ जना बेपत्ता
- ६ कार्तिक २०७८, शनिबार
यसै साताको मुसलधारे बर्षाबाट उत्पन्न बाढी पहिरो र डुवानका कारण १ नम्बर प्रदेशमा ६२ जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।
प्रदेश प्रहरी कार्यालय बिरानगरले दिएको जानकारी अनुसार प्रदेश एकमा ६२ जनाको मृत्यु र १३ जना बेपता भएका हुन् । बाढी पहिरो र डुवानमा परी २० जना घाइते भएका छन् ।
प्रदेश १ मा सबै भन्दा बढी पाँचथर जिल्लामा मानविय क्षति भएको छ । पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको, १० जना घाईते भएको र ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पाँचथरको कुम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिकामा पहिरोले घर पुरिदा सो मानवीय क्षती भएको हो ।
यसैगरी ईलाम जिल्लामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु भएको छ । इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिका तथा सुर्योदय, देउमाई र माई नगरपालिकामा बाढी पहिरोको कारण १४ जनाको मृत्यु, ५ जना घाईते तथा १ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बढी पहिलोको कारण धनकुटामा ८ जनाको मृत्यु भएको छ । धनकुटाको चौबिसे गाउँपालिकामा अबस्थित ६ नं. बुधबारेमा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । त्यसैगरी धरान जाने क्रममा बाढीमा परी धनकुटाकै सांगुरीगढी गाउँपालिकाका एक ब्यक्तिको मृत्यु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । यसैगरी मोरङको बिराटनगर महानगरपालिकामा १ जना, भोजपुरको राम प्रसास राई गाउँपालिकामा १ जना र उदयपुरको त्रियुगा नगरपालिका र उदयपुर गढी गाउँपालिकामा बाढीका कारण १/१ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बेमौसमी झरीका कारण सयौ घर डुबानमा परेका छन् भने ४ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएको र करोडौंको बालीनाली नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।
धनकुटा जिल्लामा यसपटकको बर्षा र बाढी बि.सं.२०२५ साल यताकै सबैभन्दा ठुलो भएको धनकुटाबाट बसाइँ सरी हाल मोरङ केराबारी ९ बस्दै आएका ६५ बर्षिय डम्बरु पौडेलले बताए । त्यसैगरी धनकुटाको मुलघाट निवासी ५० बर्षिय बिनोद पोख्रेलले तमोर नदीमा यसपटकको जस्तो ठुलो बाढी यसअघि कहिल्यै नदेखेको बताए । बाढीले पाँचथर र धनकुटाको सिमानामा पर्ने नयाँखोलाले सबैभन्दा बढी खेत बगाएको र डिहिटार नजिकै रहेकोे प्रहरी बिट समेत बगाएर लगेको धनकुटा चौबिसेका एक युवाले बताए ।
आइतबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर १ सय ४ जनाको मृत्यु भएको छ भने साढे तीन दर्जन ब्यक्तिहरु बेपत्ता भएका छन् ।
गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर १ मा ६२ जनाको मृत्यु भएको छ भने २० जना घाइते र १३ जना बेपत्ता भएका छन् । त्यसैगरी प्रदेश २ मा १ जना बेपत्ता भएका छन् । बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशमा ३ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएका छन् । कर्णालीमा ७ को मृत्यु हुनुका साथै ४ जना घाइते र १ जना बेपत्ता छन् ।
यसैगरी सुदूरपश्चिममा ३१ जनाले बाढी पहिरोबाट ज्यान गुमाएका छन् भने १७ जना घाइते भएका छन् । सुदुरपश्चिममा २३ जना बेपत्ता छन् । हालसम्म देशभर ४१ जना बेपत्ता रहेको र चार दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ ।