कार्तिक ११ देखि हुनेभो चौथो अन्तर्राष्ट्रिय बेलबारी गोल्डकप, नेपाल र भारतका ८ टीम भिड्दै

  • ६ कार्तिक २०७८, शनिबार

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा यही कात्तिक ११ गतेदेखि १८ गतेसम्म चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक डाँगीहाट युथ क्लबले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हाे । प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहने छ ।     डाँगीहाट युथ क्लबका सचिव शम्भु बस्नेतले दिएको जानकारी अनुसार प्रतियोगितामा एपिएफ क्लब काठमाडौं, हिमालयन शेर्पा क्लब, च्यासल क्लब, आयोजक डिवाइसी मोरङ, रोलिङ क्लब झापा, गाईघाट फुटबल क्लब उदयपुर, राजारानी क्लब धनकुटा र भारतको रोयल फुटबल क्लब सिलिगुढी सहभागी हुने टुंगो लागेको छ ।

कात्तिक ११ गते हुने पहिलो एवं उद्घाटन खेलमा रोलिङ क्लब झापा र च्यासल क्लबबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको क्लबका सचिव बस्नेतले बताए ।
बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा हुने प्रतियोगिता बेलबारीको इज्जत एवं प्रतिष्ठासँग जोडिएको गोल्डकप थुप्रै चुनौतीको सामना गर्दै आयोजना गर्न लागिएको डाँगीहाट युथ क्लबका अध्यक्ष एवं आयोजक समितिका संयोजक विक्रम वान्तवा राईले बताए ।

कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भइरहेका बेला मोफसलमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि प्रतियोगितालाई निरन्तरता दिन लागिएको डाँगीहाट युथ क्लबका सल्लाहकार भाइकुमार गुरुङले बताए ।

गोल्डकपका आर्थिक समिति संयोजक राजेश बस्नेतले प्रतियोगितामा विजेता टिमले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार पाउने जानकारी दिए । प्रतियोगिता अन्तरगत प्रत्येक खेलमा म्यान अफ द म्याचले पाँच हजार पाँच सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११-११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।

आयोजकका खेलाडीलाई आवतजावतको लागि दुईतर्फी रूपमा रात्रिकालीन यातायात खर्च व्यवस्था गरिने छ । पहिलो खेलमा सहभागी भएर बाहिरिने टिमलाई १५ हजार र त्यसपछि प्रत्येक टिमलाई २० हजार रूपैयाँका दरले सहयोग गरिने आर्थिक समिति संयोजक बस्नेतले बताए । खेलाडीलाई खान, बस्न र दैनिक भत्ताबापत एक हजार तीन सय रूपैयाँ प्रदान गरिने छ ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको क्लबका अध्यक्ष राईले बताए । प्रतियोगिताबाट नाफा भएको रकम खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ । कोरोनाको कारण ठप्प रहेको खेल क्षेत्रलाई चलायमान बनाउन एवं खेलाडीको प्रोत्साहन गर्न र विगतका खेल गतिविधिलाई निरन्तरता दिने उद्देश्यले दुई बर्षदेखि रोकिएको गोल्डकप सुचारु गर्न लागिएको क्लबका अध्यक्ष राइले बताए ।