बेलबारी गोल्डकप शुरु हुँदै , पहिलो खेलमा रोलिङ क्लब र च्यासल क्लबबिच प्रतिस्पर्धा
- ११ कार्तिक २०७८, बिहीबार
खेलकुदको निकास गर्दै लक्ष्मीमार्गलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभिप्रायले डाँगीहाट फुटबल क्लबद्वारा बेलबारी ११ लक्ष्मीमार्गमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ ।
कार्तिक ११ गते अर्थात बिहीबार उद्घाटन भई १८ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र खेलमैदान, घेरा बारा, प्यारा फिट, गेट, मञ्च लगायत तयारी पुरा भएको आयोजक डाँगीहाट युथ क्लबका सचिव शम्भु बस्नेतले जानकारी दिए ।
बेलबारी ११ स्थित लक्ष्मी खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा रोलिङ क्लब झापा र च्यासल क्लब्बिच क्प्तिस्पर्धा हुने छ । प्रतियोगितामा एपिएफ काठमाडौँ, हिमालयन शेर्पा र च्यासल काठमाडौँ , मोरङ, धनकुटा, उदयपुर, झापा र रोयल फुटबल क्लब सिलिगुडी जस्ता ८ वटा ए डिभिजन क्लबहरू सहभागी हुनेछन् ।
बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा हुने प्रतियोगिताका लागि देश तथा विदेशबाट उत्साहजनक रूपमा आर्थिक सङ्कलनको काम भइरहेको प्रतियोगिताका आर्थिक संयोजक राजेश बस्नेतले बताए ।
कोरोनाका कारणले दुई वर्षदेखि सञ्चालन हुन नसकेको प्रतियोगितालाई सभ्य र भव्य बनाउन विभिन्न उपसमितिहरूको गठन गरिएको र सोही अनुसार जिम्मेवारी बाँडफाँड गरी तयारी गरिएकोले प्रतियोगिता सफल हुनेमा आफू ढुक्क रहेको डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईले बताए ।
कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भइरहेका बेला मोफसलमा खेल क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादनका लागि बेलबारीको इज्जत एवं प्रतिष्ठासँग जोडिएको प्रतियोगितालाई निरन्तरता दिन लागिएको डाँगीहाट युथ क्लबका सल्लाहकार भाइकुमार गुरुङले बताए ।
प्रतियोगितामा विजेता टिमले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता अन्तरगत प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार पाँच सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११-११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।
आयोजकका खेलाडीलाई आवतजावतको लागि दुईतर्फी रूपमा रात्रिकालीन यातायात खर्च व्यवस्था गरिने भएको छ । पहिलो खेलमा सहभागी भएर बाहिरिने टिमलाई १५ हजार र त्यसपछि प्रत्येक टिमलाई २० हजार रूपैयाँका दरले सहयोग गरिने र खेलाडीलाई खान, बस्न र दैनिक भत्ताबापत एक हजार तीन सय रूपैयाँ दिइने आर्थिक समिति संयोजक बस्नेतले बताए ।
प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको क्लबले जनाएको छ । प्रतियोगिताबाट नाफा भएको रकम खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक डाँगीहाट युथ क्लबका सचिव शम्भु बस्नेतले जानकारी दिए । खेल तालिका