चौथो बेलबारी गोल्ड कप : झापालाई ३–१ ले हराउँदै हिमालयन शेर्पा फाइनलमा

फाइनलका लागि भिड्दै राजारानी र एपीएफ

  • १५ कार्तिक २०७८, सोमबार

रोलिङ क्लब धुलाबारीलाई ३–१ गोलले हराउँदै हिमालयन शेर्पा क्लब काठमाडौँ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा रक्षात्मक अबस्थामा रहेको रोलिङ क्लब क्लबविरुद्ध जित निकाल्दै हिमालयन शेर्पा फाइनलमा पुगेको हो ।
खेल शुरु भएको १६ ओं मिनेटमा हिमालयन शेर्पाका लागि विदेशी खेलाडी पिस्टन मुतुम्वाले पहिलो गोल गरेका थिए । हिमालयनका कप्तान विश्वास श्रेष्ठले पोस्टमा प्रहार गरेको बल रोलिङ क्लबका गोल रक्षक मनोज प्रधानले उत्कृष्ट बचाउ गर्दै सानो डिबक्समा पञ्च गरेपनि बल सोझै गोल पोस्टमा पुगेको थियो ।

सुरु देखि नै दबाबमा राखी पहिलो हापमा १-० बनाएको हिमालयन शेर्पाले मध्यान्तरपछि रोलिङलाई झनै पेलेको थियो । खेलको ५० ओं मिनेटमा हिमालयनका जापनिज खेलाडी रियो नाकामुराले प्रहार गरेको बललाई विश्वास श्रेष्ठले गोलमा परिणत गरी नतिजालाई २-० बनाएका थिए ।

दोस्रो गोल भए लगत्तै खेलको ५२ औ मिनेटमा हिमालयन शेर्पाका विसोन गुरुङले १ गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाएका थिए ।खेलको ५७ ओं मिनेटमा रोलिङ क्लब झापाका लागि ड्याडी वाम्बाले टिमका लागि सान्त्वना गोल गरेका थिए । पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पाका त्रिदेव गुरुङ म्यान अफ द म्याच घोषित भए ।

मङ्गलवार दोस्रो सेमिफाइनल खेल राजारानी (रारा) फुटबल क्लब धनकुटा र सशस्त्र प्रहरीको एपीएफ क्लबबिच हुने आयोजकले जनाएको छ ।

बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा विजेता टिमले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता अन्तरगत प्रत्येक खेलको म्यान अफ द म्याचलाई पाँच हजार पाँच सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ३१ हजार, सर्वाधिक गोलकर्तालाई २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकला ११-११ हजार रूपैयाँ नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।

पहिलो खेलमा सहभागी भएर बाहिरिने टिमलाई १५ हजार र त्यसपछि प्रत्येक टिमलाई २० हजार रूपैयाँका दरले सहयोग गरिएको र खेलाडीलाई खान, बस्न र दैनिक भत्ताबापत एक हजार तीन सय रूपैयाँ र खेलाडीलाई आवतजावतको लागि दुईतर्फी यातायात खर्च दिने ब्यबस्था गरिएको आयोजक डाँगीहाट युथ क्लबका सचिव शम्भु बस्नेतले बताए ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । प्रतियोगिताबाट नाफा भएको रकम खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक डाँगीहाट युथ क्लबले जनाएको छ ।

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपमा शशस्त्र प्रहरीको एपीएफ क्लब , हिमालयन शेर्पा क्लब, च्यासल क्लब काठमाडौँ , आयोजक डाँगीहाट युथ क्लब, राजारानी फुटबल क्लब धनकुटा, उदयपुर फुटबल क्लब , रोलिङ क्लब झापा र रोयल फुटबल क्लब सिलिगुडी गरी ८ वटा ए डिभिजन क्लबहरू सहभागी भएका थिए ।