५० औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव मनाउँदै पुर्वकै प्रख्यात सुकुना स्कुल
- २९ मंसिर २०७८, बुधबार
पुर्वी नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित मोरङ सुन्दरहरैंचा १० मा अबस्थित सुकुना माध्यमिक विद्यालयले यसै सातादेखि विभिन्न कार्यक्रम गरी एक हप्तासम्म ५० औं वार्षिक उत्सव अर्थात स्वर्ण महोत्सव मनाउने भएको छ ।
विद्यालयले बुधबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सव मनाउन लागेको जानकारी दिएको हो । “प्रविधियुक्त गुणस्तरिय शिक्षा सहितको सुन्दर सुकुना” भन्ने नारा सहित पौष १ गतेदेखि पौष ७ गतेसम्म मनाइने स्वर्ण महोत्सवको प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री राईले समरोह उदघाटनसँगै स्मारक अनाबरण तथा बिज्ञान भवन र प्रवेशद्धार पनि उदघाटन गर्ने कार्यक्रम रहेको विद्यालयका प्रध्यानाध्यापक लक्ष्मी कुमार श्रेष्ठले जानकारी दिए ।
स्वर्ण महोत्सव सफल बनाउन २ हजार ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । स्वर्ण महोत्सव ७ दिन सम्म चल्ने मुल समारोह समितिले जनाएको छ ।
कार्यक्रमको पहिलो दिन अर्थात पौष १ गते समारोह उद्घाटन एवम् स्मारक अनावरण, बिज्ञान भवन र प्रवेशद्धार उदघाटन साथै मितेरी विद्यालय कार्यक्रम समेत उद्घाटन गर्ने कार्यक्रम छ ।
दोस्रो दिन पौष २ गते पूर्व शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन पदाधिकारी, पूर्व विद्यार्थीको भेला अभिनन्दन र अन्तक्रिया कार्यक्रम गरिनेछ ।
त्यसैगरी तेस्रो दिन अर्थात पौष ३ गते नवआगन्तुक विद्यार्थीलायई स्वागत तथा शैक्षिक पुरस्कार वितरणको कार्यक्रम तय गरिएको छ ।
चौथो दिन षौष ४ गते दातालाई सम्मान, शिक्षकलाई पुरस्कार तथा ल्याप्टप वितरण, अक्षयकोष छात्रवृत्ति वितरण, विशेष शिक्षाका विद्यार्थीलाई ल्यापटप वितरण गर्ने कार्यक्रम रहेकोे विद्यालयले जनाएको छ ।
यस्तै पाँचौं र छैठो दिन पौष ५ र ६ गते स्वास्थ्य शिविर, खेलकुद तथा अतिरिक्त क्रियाकलापको कार्यक्रम हुनेछ भने अन्तिम दिन पौष ७ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम रहेको विद्यालयद्वारा वितरित प्रेस विज्ञप्तीमा जनाइएको छ ।
समापन कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका महाबिर पुन आउने कार्यक्रम रहेकोे सुकुना माविका क्षिक्षक विद्यालय ब्यबस्थापन समिति अध्यक्ष पदम बहादुर न्यौपाने बताए ।
विद्यालयका अनुसार महोत्सवमा १० हजार सम्म सहयोग गर्ने दाताको नाम स्वर्ण महोत्सव स्मारिकामा प्रकाशन गरिनेछ । त्यसैगरी १० हजार एकदेखि २५ हजारसम्म सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखिनेछ । त्यस्तै २५ हजार एकदेखि १ लाखसम्म सहयोग गर्ने दाताको नाम छुट्टाछुट्टै शिलालेखमा उल्लख गर्ने र १ लाख एकभन्दा माथि सहयोग गर्ने दाताका परिवारको समेत शिलालेखमा नाम उल्लेख गरिनेछ ।
बि. सं. २०७६ सालको कक्षा १२ को परीक्षामा नेपालमै दोस्रो स्थानमा आउन सफल यस विद्यालयमा हाल बिद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राबिधिक बिषय अन्र्तगत सिभिल इञ्जिनियरिङ्ग, कक्षा ११ र १२ मा बिज्ञान, ब्यबस्थापन, कम्प्युटर बिज्ञान होटेल मेनेजमेन्ट, कानुन, पत्रकारिता,जस्ता विषयहरुलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार विद्यार्थीलाई नेपाली र अंग्रेजी दुबै माध्यायममा पढाइ भईरहेको छ । खुल्ला एसइइ, सुस्त श्रवण इञ्जिनियरिङ्ग कन्सल्टेन्सी लगायत कार्यक्रम संचालित छन्। हाल १ सय ३१ जना शिक्षक र १९ जना कर्मचारी कार्यरत बिद्यालयमा ४ हजार ५ सय भन्दा बढी विद्यार्थी अध्यनरत छन् । डिजिटल प्रबिधिबाट पठनपाठन शुरु भइसकेको स्कुलमा हाल प्यानल बोर्ड, प्रोजेक्टर, एलिडी टिभी, कम्प्युटर ल्याब आदिको ब्यबस्था भइसकेको यस बिद्यालयका २४ जना शिक्षकले ल्यापटप समेत पाइसकेका छन् । निकट भविष्यमा सबै शिक्षकहरुलाइ ल्यापटप उपलब्ध गराउने बताइएको छ ।