मोरङको लेटाङ र केराबारी क्षेत्रमा हात्ती आतंक, हात्तीले पछार्दा किशोरी सिकिस्त

  • २९ मंसिर २०७८, बुधबार

उत्तरी मोरङको लेटाङ र केराबारी तथा आसपासका क्षेत्रमा केही दिनयता जङ्गली हात्तीको आतङ्क बढ्न थालेको छ । हात्तीको आक्रमणबाट केराबारी ९ की एक किशोरी गम्भीर घाइते भएकी छिन् ।

मङ्गलबार राति १० बजेतिर केराबारी ९ देवीझोडा सिरानको बगर टोल छिरेको हात्तीले राति करिब २ बजेसम्म गाउँमा आतङ्क मच्चाएको थियो । हात्ती गाउँ छिरेपछि त्रासले आफुहरु रातभर नसुति जागा बसेको स्थानीय मोहन कार्कीले बताए ।
गाउँ पुर्वको जङ्गलबाट लोहोन्द्रा खोला पार गरी गाउँ पसेको एक्लो हात्तीले घर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्ने क्रममा हात्तीले पछार्दा १७ वर्षीया प्रतिमा लिम्बू घाइते भएकी छिन् । प्रतिमाको खुट्टा र ढाडको हड्डेडी भाँचिएको र अवस्था गम्भीर भएकोले विराट शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हात्तीले लछारेर आक्रमण गर्दा गम्भीर घाइते भएकी प्रतिमा स्थानीय गजेन्द्र लिम्बु (आङ्ला कान्छा ) की नानिनी हुन् । उनी मामली घरमै बस्दै आएकी थिइन् ।
जङ्गलबाट गाउँ पसेको हात्तीले गजेन्द्र लिम्बु र सुरेन राइको घरमा क्षति पुर्याएको वडा सदस्य नर बहादुर मगरले बताए । उनका अनुसार राइको टिनको छानो र टाटीबेरा लगाएर बनाइएको घरमा हात्तीले ३० हजार रूपैयाँ बराबरको क्षति गरेको छ । हात्तीले घरमा राखेको धान, चामल, मकै लगायतका अन्न खाइदिएको र केरा बिगारिदिएको पीडितले बताए ।
लघटनाको अनुसन्धान र हात्तीले पुर्याएको क्षतिको विवरण सङ्कलनका लागि बुधबार इलाका प्रहरी कार्यालय केराबारी र वडा नं ९ का जनप्रतिनिधिको टोली घटस्थल पुगेको थियो । क्षतिको बिवरण संकलन भएपछि राहत र घाइतेको उपचारको लागि पहल गर्ने वडा सदस्य मगरले बताए ।
हात्तीले गजेन्द्र लिम्बूको घरमा पनि क्षति गरेको छ । हात्तीलेआँगनमा राखेको नयाँ कर्कट पाता र सिमेन्ट बिगारेको तथा घरमा पनि सामान्य क्षति पुर्याएको गजेन्द्रले बताए ।
हात्ती आएपछि भाग्दै गर्दा स्थानीय सुरेन राईकी श्रीमती २२ वर्षीया अस्मिता राइ र ५ महिनाका छोरा क्यालबिन राई पनि घाइते भएका छन् ।
स्थानीयले होहल्ला गर्दै बुधबार बिहान २ बजेतिर हात्तीलाई जङ्गलतिरै धपाएका छन् । स्थानीय र प्रहरीले लखेटेपछि गाउँमा ५ घण्टासम्म उपद्रो मच्चाएको हात्ती लोहोन्द्रा खोला हुँदै पुर्वको जङ्गलतर्फ लागेको स्थानीय बासिन्दाले बताए ।
उत्तरी मोरङमा जङ्गली हात्तीले स्थानीयलाई बारम्बार दुःख दिने गरेको छ । एक हप्ता अघि लेटाङको फडानी क्षेत्रमा जंगली हात्तीले गाउँ पसी रातभर आतंक मच्चाएको थियो ।