बेलबारीका ५ हजार ६ सय भुमिहीन परिवारले पनि पाउने भए जग्गा धनीपुर्जा

  • २६ माघ २०७८, बुधबार

मोरङको बेलबारीका ५ हजार ६ सय भुमिहीन सुकुम्बासीहरुले जग्गा धनीपुर्जा  पाउने भएका छन् ।

राष्ट्रिय भूमि आयोग र बेलबारी नगरपालिका बिच सम्झौता भएसँगै भुमिहीनहरुले जग्गा र धनीपुर्जा पाउने सुनिस्चित भएको हो ।आयोगका केन्द्रिय अध्यक्ष केशव निरौला र बेलबारी नगरपालिकाकी उपमेयर   ढाकाकुमारी पराजुली बिच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आयोगले माघ १८ गतेदेखि ३५ दिनभित्र स्थानीय तहबाट बडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलक मार्फत पेस गर्न सार्वजनिक सूचना प्रकाशन गरेको थियो । मोरङका कानेपोखरी, पथरीशनिश्चरे, बुढीगंगा, सुन्दरहरैचा, उर्लाबारी र रतुवामाई गरी ५ वटा पालिकाले  निर्धारित अबधिमा निवेदन दिएका थिए ।
बेलबारी नगरपालिकाले फर्म नै नभरेको आयोगले दाबी गरेको थियो । तर बेलबारी नगरपालिकाले भने सबै प्रक्रिया पुरा गरेर फर्म भरेको तर आयोगले बदनियत राखेको आरोप लगाउँदै आएको थियो । बेलबारीमा ५ हजार ६ सय सुकुम्बासी रहेको रेकर्ड छ ।

राष्ट्रिय भुमिहिन आयोगले २७ जिल्लाका ७६ स्थानीय तहका भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराइपाउनका लागि निवेदन दिन आयोगले सूचना निकालेको थियो । जस अनुसार  इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा,    महोत्तरी, सर्लाही, बारा, रौतहट, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेल्धुराका ६८ स्थानीय तह मार्फत संकलन भएका सुकुम्बासीहरुको अभिलेख गरी धनीपुर्जा उपलब्ध गराउने तयारी गरिरहेको छ । केही जिल्लामा लालपुर्जा बितरणको काम समेत शुरु भैसकेको छ ।