सुन्दरहरैचामा दुई बर्षिया वालिकाको बलात्कारपछि हत्या, दुइजना पक्राउ

  • २९ फाल्गुन २०७८, आईतवार

मोरङको सुन्दरहरैचा–७ मा २१ महिने बालिकाको बलात्कारपछि हत्या भएको छ ।

प्रहरीका अनुसार शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा आइतबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा उनको मृत्यु भयो ।

सुन्दरहरैचा–७ का वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशङ्का गरिएको छ । यौनाङ्गमा रक्ताम्य भएकी बालिकालाई भेटेपछि आफन्तले गछिया स्थित एक मेडिकलमा लगेको र अवस्था हेर्दा बलात्कार भएजस्तो देखिएको सिटौलाले बताए ।

शुक्रबार बेलुका ४ बजेबाट हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिएकी थिइन् । त्यसपछि अस्पताल पुर्याइएकी २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट थियो ।

अपहरण शैलीमा घरबाट बालिकालाई झाडीमा लगेर बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २८ वर्षीय मिथुन र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अजयले ती बालिकालाई घरदेखि करीब १०० मिटर पर खोला किनारको झाडीमा लगेका थिए । अजय मिथुनका भाइ हुन् । अजयले करणी गर्दा बालिका धेरै चिच्याएपछि बियरको बोतल र ढुंगाले टाउकोमा हानेको मोरङ प्रहरीका एसपी जनार्दन जिसीले बताए ।