धनकुटामा एमालेलाई चुनौती दिँदै चुनावी गठबन्धन गर्न सहमत भए सत्तापक्षीय दलहरू

  • ७ चैत्र २०७८, सोमबार

धनकुटामा क्रियाशिल चारवटा दलहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको सोमबार भएको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सोमबार गरिएको पत्रकार सम्मेलनमा चार पार्टीका जिल्ला अध्यक्षहरुले धनकुटाका सात वटै पालिकामा संयुक्त रुपमा उम्मेदवारी दिने घोषणा गरे । उनीहरुले कुन पालिका कसले लिने भन्दा पनि धनकुटाको आवश्यकतालाई हेरेर सबै तहमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति बनेको बताए ।

सो पत्रकार सम्मेलनमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेकपा माओवादी केन्द्रका संयोजक डिल्लीराम राई, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका अध्यक्ष बलबहादुर राईले जस्तोसुकै परिस्थितीमा पनि धनकुटामा चार दल एक भएर अघि बढ्ने प्रतिवद्धता जनाए । पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा सो कुरा उल्लेख छ । स्मरणीय के छ भने यसअघिको स्थानीय, निर्वाचनमा एमालेले बर्चस्व जमाएको थियो । प्रदेश तथा संघीय चुनावमा पनि एमालेले नै जित हासिल गरेको थियो ।

बिज्ञप्तिमा भनिएको छ ” स्थानीय तहहरुमा समेत आवश्यकताका आधारमा हामी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै हाम्रा सांगठनिक संरचनाहरूलाई समेत स्थानीय स्तरमा गठबन्धनको बैठक, भेलाको आयोजना गरी सोही मर्म र  भावनाअनुसार चुनावी अभियानमा लाग्न निर्देशन गर्दछौं ।’
उच्च राजनीतिक संस्कारसहित चुनावी सहकार्यमार्फत सामूहिक मर्म, भावना र उद्धेश्यहरुलाई पुरा गर्न जसरी राष्ट्रिय र प्रदेशस्तरमा गठबन्धन अगाडि बढेको गठबन्धन सम्बद्ध चार दलले संयुक्त जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।          विज्ञप्तिमा आगामी वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमार्फत तमाम विसंगति, वेथिती, भ्रष्टाचार, तदर्थवाद, व्यक्तिवाद र असंवैधानिक कदमहरूलाई परास्त गर्न धनकुटामा क्रियाशील राजनीतिक दलहरुबीच गठबन्धन गरिएको उल्लेख गरिएको छ ।
केन्द्रिय सरकारमा सामेल दलहरूले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने बताउने गरेपनि सोबारे हालसम्म ठोस निर्णय भइसकेको छैन । तर यसअघि अर्घाखाँची लगायत केहि जिल्लामा सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन गरेर जाने सहमति भइसकेको छ ।