चार करोडभन्दा बढीको लागतमा यस्तो बन्यो बेलबारी नगरको भवन, सर्यो नगरपालिका

  • १० चैत्र २०७८, बिहीबार

अम्बिका भण्डारी / मोरङको बेलबारी नगरपालिका नवनिर्मित प्रशासनिक भवनमा सरेको छ ।
बेलबारी ३ मा रहेको पुरानो र साँघुरो भवनमा रहेको  नगरपालिका बेलबारी १ मा बनेको नयाँ भवनमा सरेको हो ।

नवनिर्मित भवन निर्माणका लागि पहिलो चरणमा १ करोड २० लाख १९ हजार ८ सय ८२ रुपैयाँ २७ पैसा र दोस्रो चरणमा ३ करोड ५ लाख ४ हजार ६ सय १२ रुपैयाँ ९ पैसा गरी कुल ४ करोड २० लाख ७४ हजार ५ सय ७४ रुपैयाँ ३६ पैसा  लागतमा  नगरपालिकाको भवन निर्माण भएको हो ।

आ.ब. २०७३/०७४ मा निर्माण शुरु भएको भवनको भुइँ तला निर्माणको लागि गौरी पार्वती/जोया ब्रदर्स जेभी ले १ करोड २० लाख १९ हजार ८ सय ८२ रुपैयाँ २७ पैसामा ठेक्का पाएको थियो ।  त्यसैगरी दोस्रो चरणमा पहिलो र दोस्रो तला निर्माणका लागि आब २०७४/०७५ मा स्वामी नारायण / एच एम जेभी कन्स्ट्रक्सन काठमाडौले ३ करोड ५ लाख ४ हजार ६ सय १२ रुपैयाँ ९ पैसामा निर्माणको ठेक्का पाएको थियो ।

कुल ६ हजार ८ सय ४१ स्वायर फुट क्षेत्रफल रहेको तीन तले भवनको भुइँ तलामा ९ वटा कोठा छन् । जसमा दर्ता चलानी तथा सोधपुछ, राजस्व ब्यबस्थापन उपशाखा, शहरी पुर्वाधार उपशाखा, पन्जीकरण तथा सामाजिक सुरक्षा उपशाखा, स्वास्थ्य शाखा, प्रशासन शाखा, भुमि तथा भवन नियमन शाखा, महिला तथा वालवालिका उपशाखा, कृषि बिकास शाखा, योजना अनुगमन तथ्यांक शाखा, खरिद तथा जिन्सी उपशाखा र नगर उपप्रमुखको कार्यकक्ष  छन् ।

पहिलो तलामा ७ कोठा छन् , जसमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, आर्थिक प्रशासन शाखा, शिक्षा शाखा, आन्तरिक लेखा परिक्षण शाखा, सूचना प्रविधि शाखा, धनपालगढी बैठक कक्ष र नगर प्रमुखको कार्यकक्ष रहेका छन् ।

त्यसैगरी दोस्रो तलामा मुल्यांकन समिति कक्ष, बेतना सभाहल, उद्योग तथा शहरी प्रबर्द्धन शाखा, र न्यायिक इजलास लगायत  छन् ।

 प्रशासकीय भवन बनेको क्षेत्रमा नगरपालिकाले खरिद गरेको र दाताले दिएको १५ कठ्ठा  जमीन छ । बिक्रम सम्बत २०७३ सालमा निर्माण शुरु भएको प्रशासनिक भवन निर्माणको अबधि पटकपटक थपिएको थियो ।

नवनिर्मित भवनको एक कार्यक्रमका बिच यसैहप्ता पुर्वमन्त्री तथा मोरङ क्षेत्र नम्बर  ३ का सांसद भानुभक्त ढकाल र बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा उदघाटन गरेका छन् । उद्घाटन कार्यक्रममा जग्गादातालाइ नसम्झिइएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

भवन निर्माणको काम सकिए पनि नगरपालिका भवन वरिपरि पुर्ने कामदेखि कम्पाउण्ड बाल, पोखरी निर्माण लगायत ३ करोडभन्दा बढीको काम हुन बाँकी रहेको बेलबारी नगरपालिकाका इन्जिनियर वालकृष्ण निरौलाले बताए ।

यसअघि नगरपालिकाको प्रशासनिक काम बेलबारीमा ३ मा रहेको साबिक बेलबारी गाविसको भवनबाट भइरहेको थियो । पुरानो नगरपालिका भवनमा हाल वडा नं ३ र १ का वडा कार्यालय रहेका छन् । वडा नं १ को कार्यालय निकट भविष्यमा आफ्नै भवनमा सर्ने तयारी भइरहेकोेले पुरानो प्रशासनिक भवनमा ३ नं वडाको कार्यालय रहने नगरपालिकाले जनाएको छ ।