धनकुटामा एमालेले भ्रम छरेको भन्दै प्रतिवादमा उत्रिए सत्तापक्षीय दलहरू
- १५ चैत्र २०७८, मंगलवार
गठबन्धनका फुट ल्याउन एमाले धनकुटाले भ्रम फैलाउन खोजेको भन्दै सत्ता गठबन्धन सम्बद्ध दलहरुले एमालेको भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।
नेकपा एमाले धनकुटाले पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीसँग धनकुटाका तिन तहमा गठबन्धन गर्न प्रस्ताव गरेको दाबी गरेको थियो । त्यसबारे विभिन्न संचार माध्यममा प्रकाशित समाचारले धनकुटामा भ्रम फैलाएकोले गंभिर ध्यानार्कषण भएको वताउदै स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलहरुविच नै सहकार्य हुने स्पष्ट पारिएको छ ।
स्थानीय तहको निर्वाचनमा धनकुटाका सबै पालिका र वडाहरुमा गठबन्धन गर्ने निर्णय प्रति प्रतिवद्धता हुदै वडा स्तरसम्म सत्ता गठबन्धनको संयुक्त बैठक गर्ने र मतदाताहरुलाई गठबन्धनको सन्देश दिने लगायतका महत्वपूर्ण निर्णयहरु भएको नेपाली कांग्रेस धनकुटा नगरका सभापती नरेश श्रेष्ठले बताए ।
नेकपा एमाले धनकुटाले धनकुटाको तिन तहमा मिलेर निर्वाचनमा जाने प्रचार गरेर भ्रम सिर्जना गरेको प्रति आपत्ति जनाउदै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा धनकुटा नगर संयोजक गणेश विष्टले एमाले हारको हतास मानिसित्तामा रहेकोले जनतामा भ्रम मात्र छरेको यसमा कुनै सत्यता नभएको बताए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले सत्ता गठबन्धन दलहरुले सहकार्य गरेर गठबन्धन गरी धनकुटामा निर्वाचनमा जाने निर्णय भएपछि एमाले आतिएर अहिले जो पायो त्यही बोल्न र गर्न थालेको र उनीहरु हतोत्साही भएको बताए ।
त्यस्तै जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपहरियाले तत्काल गठबन्धन दलहरुले वडा र टोल स्तर सम्म पुगेर एमालले फैलाएको भ्रमको विरुद्ध स्पष्ट पार्नु पर्ने वताए ।
नेकपा माओवादी केन्द्र जिल्ला पार्टी कार्यालय धनकुटामा भएको सत्ता गठबन्धन दलहरुको धनकुटा नगरस्तरीय बैठकमा नेपाली कांग्रेस धनकुटाका नगर सभापती नरेश श्रेष्ठ,उपसभापती अमित लो तामाग, नेकपा माओवादी केन्द्र धनकुटा नगरका अध्यक्ष हेमचन्द्र किराती, उपाध्यक्ष सुरेन आठपहरिया, सचिव खगेन्द्र विष्ट, नेकपा एकिकृत समाजवादीका धनकुटा नगरका अध्यक्ष सुजन भाई जोशी, इन्चार्ज सोम वहादुर राई, जनता समाजवादी पार्टी धनकुटा जिल्लाका कोषाध्यक्ष सरोज आठपरिया, धनकुटा नगर अध्यक्ष दिल कुमार राई लगायतको उपस्थिति थियोे ।