को-को छन् धनकुटामा सत्तापक्षीय गठबन्धन, एमाले र अन्य पार्टीका उम्मेद्वार ?

  • १३ बैशाख २०७९, मंगलवार

 वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा  एमालेले एक्लै र सत्ता साझेदार दलहरूले कतै साझा त कतै एकल उम्मेदवारी दिएका छन् ।

धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राई र गठबन्धनबाटै उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्मेदवारी दिएका छन्। यस्तै एमालेबाट धनकुटा नगरपालिकाको प्रमुख पदमा  निवर्तमान मेयर चिन्तन तामाङ र उपप्रमुखमा भीमा खनालले उम्मेदवारी दिएका छन् । धनकुटा नगरपालिकामा जनता समाजवादी पार्टीले गोपाल लिम्बू प्रमुखमा र सारकुमारी राई उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै राप्रपाबाट सुमिना तामाङले प्रमुखमा, राप्रपा नेपालबाट उपप्रमुखमा सुदिप सिजालीले उम्मेदवारी दिएका छन् । नगरपालिकामा स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठले प्रमुखमा र सिताराम श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दिएका छन्।

यता पाख्रिबास नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसका ज्ञानबहादुर गुरुङ र उपप्रमुखमा माओवादीका ओमप्रकाश निरौलाले उम्मेदवारी दिएका छन भने एमालेले भीम राईलाई प्रमुख र नम्रता देउजालाई उपप्रमुखको उम्मेदवार बनाएको छ । गठबन्धनभित्र कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका गोपाल बराईलीले प्रमुखमा तथा सावित्रा घिमिरेले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्।

यस्तै महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसका ध्रुवराज राया र उपप्रमुखमा माओवादीका प्रेम खड्काले उम्मेदवारी दिएका छन । एमालेले दीपक बुढाथोकीलाई प्रमुखमा र मञ्जु कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ। त्यहाँ पनि नेकपा एकीकृत समाजवादीका खगेन्द्र सुवेदीले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन्।

सहिदभूमि गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका भरतसिंह राई र उपाध्यक्षमा कांग्रेसका तोर्ण खड्काले उम्मेदवारी दिएका छन भने एमालेले मनोज राईलाई अध्यक्ष र रत्नश्वरी राईलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका जेवी राईले अध्यक्षमा मनोनयन दर्ता गराएका छन्।

छथर जोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका छत्र सुब्बा र उपाध्यक्षमा माओवादीकी गीता गुरुङ खेवाले उम्मेदवारी दिएका छन् भने एमालेले शेर बहादुर लिम्बूलाई अध्यक्ष र गोमा कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

त्यसैगरी साँगुरीगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका जितेन्द्र रुम्दाली राई र उपाध्यक्षमा जनता समाजवादी पार्टीले लिलाराज लावतीले उम्मेदवारी दिएका छन् । एमालेले कुमार जंग याखालाई अध्यक्षमा र उपाध्यक्षमा मुना राईलाई उम्मेदवार बनाएको छ। यहाँ राप्रपाबाट नगेन्द्र राईले मनोनयन दर्ता गराएका छन्।

चौविसे गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका दलबहादुर मगर र उपाध्यक्षमा जनता समाजवादीकी दिवा चेमजोङले उम्मेदवारी दिएका छन् भने एमालेले राजकुमार चेम्जोङलाई अध्यक्षमा र टंकमाया मगरलाई उपाध्यक्षको टिकट दिएकाे छ।