धनकुटाका चार पालिकामा कांग्रेस र दुइ पालिकामा एमालेले पाए नेतृत्व

  • ३ जेष्ठ २०७९, मंगलवार

धनकुटामा मत परिणाम आएका छ मध्ये गठबन्धनबाट कांग्रेसले चारवटा पालिका प्रमुख र एमालेले दुइवटा प्रमुख जितेको छ।

कांग्रेस बाहेकका गठबन्धनको दल माओवादीले आफ्नो भागमा परेको उपप्रमुख एउटामा मात्र जित्न सकेको छ। तर, कांग्रेसले प्रमुख जितेका चार वटा पालिकामा माओवादी र समाजवादीको भाग खोस्दै एमालेले चारवटा उपप्रमुख जितेको छ।

एमालेले यसअघि जितेको चौबिसे गाउँपालिकामा कांग्रेसले अध्यक्ष र जितेपनि एमालेले उपाध्यक्ष पुनः जितेको छ । त्यहाँ एमालेका राजकुमार लिम्बुले ५ हजार ३८ मत पाएर अध्यक्ष निर्वाचित हुँदा माओवादी केन्द्रका दलबहादुर रानाले ३ हजार ९९१ मत पाए। उपाध्यक्षमा एमालेकै टंकमाया पाङ्मी विजय भइन्।

सागुरीगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका जितेन्द्र राईले एमालेका कुमारजंग याक्खालाई पराजित गरे। तर, एमालेकी मुना राईले गठबन्धनबाट उम्मेदवार बनेका जसपाका लीलाराज लावतीलाई अध्यक्षले झैं ५ सयभन्दा बढी मतान्तरले पराजित गरिन्।

छथर जोरपाटी गाउँपालिकामा पनि निवर्तमान अध्यक्ष एमालेका शेरबहादुर लिम्बू कांग्रेसका अध्यक्षका उम्मेदवार छत्रबहादुर सुब्बासँग करिब २ सय मतान्तरले पराजित भएका छन् । उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार भएकी माओवादी केन्द्रकी गिता गुरुङले एमालेकी गोमा कार्की दाहाललाई पराजित गरेकी छिन् ।

त्यसैगरी एमाले धनकुटाका संघीय सांसद राजेन्द्र राइको गृह नगर पाख्रिबास नगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ज्ञानबहादुर गुरुङ ५ हजार ४ सय ९८ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत पाएका थिए ।

पाख्रीबासको उपमेयरमा भने एमालेकी नम्रता गौतम विजयी भइन्। उनले ५ हजार ६२ मत पाउँदा गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका ओमप्रकाश निरौलाले ४ हजार ६४१ मत पाएका छन्। पाख्रीबास कांग्रेस नेता सुनिल थापाको पनि गृह नगर हो ।

त्यस्तै महालक्ष्मी नगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका ध्रुवराज राया मेयरमा निर्वाचित भएका छन्। उनले एमालेका दीपक बुढाथोकीलाई पराजित गरे तर, उपमेयरमा एमालेकी मञ्जु कार्की अधिकारीले माओवादीका गठबन्धन उम्मेदवार प्रेम खड्कालाई पराजित गरेकी छिन्।

यता धनकुटा नगरपालिकाको प्रमुखमा एमालेका एमालेका उम्मेदवार चिन्तन तामाङ विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दिनेश राईलाई १४ मतले पराजित गर्दै तामाङ बिजयी भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि तामाङले राईलाई ११४ मतले पराजित गरेका थिए।
यस्तै उपप्रमुखमा एमालेकै भीमा खनाल विजयी भएकी छन्। उनका प्रतिद्धन्द्धि माओवादीका गणेश विष्ट रहेका थिए। धनकुटा नगरपालिकाको मत परिणामअनुसार वडा नं. १, २, ४, ८ र ९ मा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नं. ३, ५, ६, ७ र १० मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

छिन्ताङ शहिदभूमि गाउँपालिकामा भने बैशाख ३० गते हुन नसकेको मतदान बल्ल हुँदैछ । दुई वटा केन्द्रमा भने मंगलबार मतदान भएपछि बल्ल मतगणना हुनेछ । यहाँ अध्यक्ष पदमा एमाले र गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार प्रतिस्पर्धामा छन् । छिन्ताङ अघिल्ला निर्वाचनमा एमालेले एकलौटी जित्दै आएको पालिका हो।