सुन्दरहरैचासहित एमालेले ९ पालिका प्रमुख जित्दा मोरङका ८ पालिकामा कांग्रेसको जित
- ११ जेष्ठ २०७९, बुधबार
मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
मेयरमा निवर्तमान कांग्रेसका शिवप्रसाद ढकाललाई ७ सय २७ मतले हराउँदै एमाले उम्मेदवार केदारप्रसाद गुरागाईं विजयी भएका हुन् । गुरागाईंले २१ हजार ४ सय ५ मत ल्याए भने ढकालले २० हजार ६ सय ७८ मत ल्याएर पराजित भए ।
त्यसैगरी उपमेयरमा एमालेकै अकली चौधरी विजयी भएकी छिन् । उनले २२ हजार ४ सय ५२ मत ल्याएर बिजयी बन्दा गठबन्धनबाट माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार ३ सय मत ल्याएर पराजित भए ।
सुन्दरहरैंचाको मतपरिणाम आएसँगै मोरङका सबै १७ पालिकाको अन्तिम परिणाम सकिएको छ ।
यसपालिको स्थानीय तह निर्वाचनमा एमालेले ९ वटा पालिकाको प्रमुख जितेको छ भने कांग्रेसले ८ वटा पालिका प्रमुख जितेको छ । उत्तरी मोरङमा सुन्दरहरैंचासँगै पहिले कांग्रेसले जितेका लेटाङ, केराबारी र उर्लाबारीका प्रमुख एमालेले खोसेको छ ।
यसअघि २०७४ को स्त य बिराटनगर महानगपालिका सहित ९ स्थानमा प्रमुख पद जित्दै कांग्रेस पहिलो शक्ति बनेको थियो । एमालेले बेलबारी र पथरी शनिश्चरे नगरपालिकाको प्रमुख सहित ६ नगरपालिकाको उपप्रमुख, तीन गाउँपालिकाको प्रमुख, उपप्रमुख जितेको थियो ।
त्यसैगरी माओवादी केन्द्रले रंगेली नगरपालिको प्रमुख र उपप्रमुख जितेको थियो । तत्कालीन संघिय समाजवादी फोरमले एक गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेको तथा फोरम लोकतान्त्रिकले एक गाउँपालिकाको प्रमुख दुई गाउँपालिकाको उपप्रमुख जितेको थियो ।