उर्लाबारीमा छोरीहरुले छोरासरह गरे बाबुकाे किरिया

  • ६ श्रावण २०७९, शुक्रबार

मोरङको उर्लाबारीमा छोरीहरूले छोरासरह बाबुकाे किरिया गरेका छन् ।
उर्लाबारी नगरपालिका ४ सृजना टोलका ५६ वर्षीय सोमनाथ खतिवडाको निधनपछि उनका तीन छोरी मध्ये दुई जना छोरीहरू दश गात्र कर्ममा बसेका हुन् । खतिवडाको केहि दिनअघि ह्दयघातका कारण मृत्यु भएको थियो ।

छोरा नभएका खतिवडाका तीन छोरी मध्ये जेठी एलिजा र कान्छी कोपिला खतिवडा खतिवडा निवासमा बाबुको काजकिरियामा छन् । माइली छोरी कविता भने अध्ययनको सिलसिलामा अस्ट्रेलियामा छिन् ।

बाबु आमाको निधन पछि छोराले मात्रै दशगात्र किरिया गर्ने सामाजिक परम्परालाई तोड्नुपर्ने सन्देश दिन आफुहरु काजकिरियामा बसेको कान्छी छोरी कोपिलाको भनाइ छ । कोपिलासँगै जेठी छोरी एलिजा र मृतकका दुई श्रीमतीहरु समेत आशौच बसेका छन् ।

आफना बाबु आमाको दशगात्र कर्म गर्न हिन्दु शास्त्रले कहिं कतै रोक नलगाएको पण्डीत इन्द्रप्रसाद अधिकारीले बताए । छोराले मात्रै गर्नुपर्छ छोरीले गर्नु हुदैन भन्ने कहिं कतै उल्लेख नभएको बताउँदै अधिकारीले गरुड पुराणको ७ औं अध्याय र ११ औं अध्यायमा समेत छोरीलाई बाबु आमाको दशगात्र कर्म गर्ने बाटो खुल्ला भएको बताए ।