नगरपालिका तोडफोड गर्ने दुई जनाविरुद्ध धरानका मेयरले प्रहरीमा दिए जाहेरी

  • १८ श्रावण २०७९, बुधबार

धरान उपमहानगर पालिकामा नगर प्रमुखको कार्यकक्ष र गेटमा तोडफोड तथा गालीगलौज गर्ने दुई जना विरुद्ध नगरप्रमुख हर्कराज साम्पाङले प्रहरीमा जाहेरी दिएका छन् ।

साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको बताए । बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ । उनीहरूलाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी लिने तयारी गरेको प्रहरीले जनाएको छ ।

आइतबार बराह बचत तथा ऋण सहकारी पीडित सङ्घर्ष समितिले नगरप्रमुख साम्पाङ विरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए । गुनासो लिएर गएका पीडितहरुलाइ नगर प्रमुख साम्पाङले मलाई सोधेर रकम राखेको हो ? भनेपछि आक्रोसित पीडितहरूले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ ।
हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
नगरप्रमुख साम्पाङले राजनीतिक षड्यन्त्र भएकाले प्रहरीमा उजुरी दिएको बताए । उनले यो व्यक्ति माथिको आक्रमण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण भएको दाबी गरे ।