खोला उत्खननका कारण बेलबारीमा सुक्न थाले पानीका स्रोत , बढ्न थाल्यो पानीको समस्या

  • २४ श्रावण २०७९, मंगलवार

जथाभावी खोला उत्खननका कारण बेलबारीको लोहोन्द्रा खोलामा बिछ्याइएको खानेपानीको पाइप चुडिँदा बेलबारी २ का बासिन्दाले खानेपानीको समस्या भोग्नुपरेको छ ।

बेलबारी साना शहरी तथा खानेपानी आयोजना मार्फत बेलबारी १ को नक्सालमा डिपबोरिङ गरेर निकालिएको खानेपानीको पाइप बाढीले बगाउँदा सो समस्या परेको हो । खोला उत्खनन गर्ने क्रममा गहिरो बनाइएका कारण बाढीले पाइप बगाएपछि गत असारयता दुइ पटक स्काबेटर लगाएर खाल्डो पारी पाइप गाडिएको तर हाल फेरि पाइप जमिनमाथि निस्किर चुडिएको बेलबारी नगरपालिकाका मेयर डीपी राइले बताए । नगरपालिकाले फेरि स्कावेटर लगाएर पाइप गाड्ने तयारी गरिरहेको राइले बताए ।

नगरपालिकाले करिब जमीनभन्दा ६ फिट गहिरो खाल्डो बनाएर पाइप गाडेको तर हाल पाइप पुन: जमिनमाथि निस्किएर पाइप चुँडिएको नगरपालिकाका इन्जिनियर योगेश गौतमले बताए । यसअघि पिलर लगाएर पाइप खोला वारीपारी गरिएको भए पनि खोलाले बगाएको गौतमले बताए ।
त्यसो त खोला उत्खननका कारण नक्साल र लालभित्ति क्षेत्रमा ट्युबवेल र पोखरी समेत समेत सुक्न थालेका छन् । नक्सालमा रहेको आकासे ट्याँकीमा तीनवटा मध्ये एउटा पम्पबाट पानी चढ्न छाडेको छ । अमना सिमसारमा पनि पानी घट्न थालेको स्थानीय बासिन्दा बताउँछन् ।
वातावरणीय असरसँगै खानेपानीको समस्या समेत जटिल बन्दै गएकोले हाल तत्कालीन निकास निकालिए पनि आगामी दिनमा खोलामा स्काबेटर लगाउन नदिने बताए । प्रारम्भिक वातावरण मुल्यांकन (आइइ) रिपोर्टमा स्काबेटर नलगाउने प्राबधान ल्याइए मात्र नगरपालिकाले खोला ठेक्का लगाउने बिषयमा बेलबारीका राजनीतिक दलहरू सहमत भइ सकेको उनले बताए । – अम्बिका भण्डारी