बेलबारी नगर अस्पतालमा १२ घण्टे ओपिडीसँगै स्वास्थ्य बिमा सेवा पनि, बिरामीलाई राहत
- २९ श्रावण २०७९, आईतवार
मोरङको बेलबारी १ मा अबस्थित स्वास्थ्य चौकीलाइ बेलबारी नगर अस्पतालमा बनाइ १२ घण्टा ओपिडी सेवा शुभारम्भ गरिएपछि बिरामीले राहत महसुस गर्न थालेका छन् ।
साउन १ गतेदेखि दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ओपिडी सेवा सञ्चालन तथा हाल एक्सरे, भिडियो एक्सरे, प्रसुति रोग बिशेषज्ञ सेवा तथा बिमाको रेफर समेत हुन थालेपछि बिरामीको संख्या बढ्न थालेको हो ।
नगर अस्पतालमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उमेश शाहका अनुसार हाल दैनिक एक सय जना भन्दा बढी मानिसहरू ओपीडी सेवा लिन आउने गरेका छन् ।
स्वास्थ चौकीको स्तरोन्नतिका लागि आ. ब. २०७७/०७८ मा नगरपालिकाबाट २५ लाख बजेट बिनियोजन भएपछि उपभोक्ता समिति मार्फत १५ वटा बेड राख्ने हल, ल्याब आदिका लागि पुरानो उप स्वास्थ्य चौकीको उत्तरपट्टी २ वटा भवन र प्रतिक्षालय निर्माण तथा ब्लक निर्माण र रिटर्निङ बाल समेतको काम शुरु भएको थियो । आ.ब. २०७८/०७९ मा १८ लाख थप भएपछि स्वास्थ चौकीको स्तरोन्नति तथा अस्पतालको पुर्वाधार निर्माणको काम सम्पन्न भएको थियो ।
नगर अस्पतालमा एकजना मेडिकल अफिसर, पारामेडिक्स, रेडियो ग्राफर नर्स, ल्याब टेक्निसियन सहित १३ जना स्वास्थ्य कर्मचारी छन् ।
अस्पताल निर्माणका लागि बेलबारीका राजेन्द्र बहादुर केसीले ३ कट्ठा जग्गा प्रदान गरेका थिए । नव निर्मित भवन निर्माण भएसँगै केहि महिनाअघि देखि साविक उप स्वास्थ्य चौकीलाई बेलबारी नगर अस्पताल बनाइएको छ ।
नगर अस्पतालमा एक्सरे, भिडियो एक्सरे, प्रसुति रोग बिशेषज्ञ सेवा तथा बिमाको रेफर समेत शुरु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिकले बताए ।
स्वास्थ्य बिमाको रेफर गर्ने काम पनि नगर अस्पतालबाट नै हुन थालेको छ । नगर अस्पतालका अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले बेलबारीबासीलाइ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय अस्पताल पुग्नुपर्ने बाध्यता अब नरहेको बताए । आफू नगर प्रमुख भएपछि स्वास्थ्य लाई पहिलो प्राााथमिकता दिएको र निकट भविष्यमै आँखा परीक्षणको सेवा विस्तार गर्ने र सेवा विस्तारसँगै जनशक्ति र विशेषज्ञ सेवा पनि थप गर्ने योजना रहेको नगर प्रमुख राइले बताए । मुटु, कलेजो र मृगौलाको समस्या र क्यान्सर जस्ता जटिल रोग भएका बिरामीको उपचारका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने उनले बताए ।
बेलबारी नगरपालिकाका मेयर तथा अस्पतालका अध्यक्ष राईले साउन १ गते उद्घाटन गरेको १२ घण्टे सेवाको पहिलो दिन बेलबारी नगरपालिकाको दाँत उपहार कार्यक्रम अन्तरगत पूर्वाञ्चल डेण्टल हस्पिटल प्रा.लि.सँगको साझेदारीमा ५३ जना स्थानीयलाई निःशुल्क दाँत लगाइएको थियो ।